April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर, ४ करोड ४५ स्रोत नखुलेको दाबी

पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर, ४ करोड ४५ स्रोत नखुलेको दाबी

सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको कसुरमा पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ  । पूर्व सचिव समेत रहेका श्रेष्ठ २०७० सालमा बनेको तत्कालिन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा पर्यटनमन्त्री थिए । श्रेष्ठले पदमा रहंदा गैरकानूनी सम्पति आर्जन गरेको अभियोग छ । मन्त्रीबाट बाहिरिएको दुई वर्षपछि २०७२ मंसिर १६ मा श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।

Advertisement

अख्तियारले करिब ६ वर्ष लामो अनुसन्धान क्रममा श्रेष्ठसँग भएको ११ करोड ३५ लाख ४४ हजार २ सय ९४ रुपैयाँ बराबरको चल–अचल सम्पत्ति भेटिएकामा ६ करोड ९० लाख १६ हजार ६ सय २७ रुपैयाँ बराबरको मात्रै स्रोत खुलेको अख्तियारले अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

Advertisement

अख्तियारले ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ बिगो मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनी शान्तिमन्त्री हुँदै शान्ति तथा पुनर्निर्माण कोषको रकम अनियमितता गरेको आरोप लागेको थियो । तर, अनुसन्धान अभावमा उनीमाथिको कसुर छानबिनमै परेको थिएन । अख्तियारका अनुसार श्रेष्ठले भ्रष्टाचार गरेर जोडेको सम्पत्ति घरजग्गा खरिद, चलचित्र उद्योग, खनिज उद्योग, सेयर कारोबारलगायतमा लगानी गरेको देखिएको छ ।

यस्तो छ अख्तियारको विज्ञप्ति

प्रेस विज्ञप्ति:- मिति २०७८।११।१५ गते ।
—————————————————-

पूर्व सचिव एवम् पूर्व मन्त्री राम कुमार श्रेष्ठले पदमा बहाल रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज राम कुमार श्रेष्ठ सार्बजनिक सेवाको शिक्षक पदबाट मिति २०२६/१२/१८ गतेदेखि सेवामा प्रवेश गरी मिति २०३६/०७/२६ गते शाखा अधिकृत पदमा नियुक्त भई बिभिन्न मितिमा पदोन्नति हुँदै सचिव पदमा बढुवा भै मिति २०६४/१०/८ देखि अनिबार्य अबकाश पाएको र मिति २०६९/१२/६ देखि मिति २०७०/१०/२९ सम्म पर्यटन, शान्ति तथा खेलकुद मन्त्रालयको मन्त्रीसमेत भएको देखिँदा निज राम कुमार श्रेष्ठ सार्बजनिक सेवा प्रवेश गरेको मिति २०२६/१२/१८ गतेदेखि मिति २०७२/०९/०८ गते सम्मको अवधिलाई जाँच अवधि कायम गरी सो अवधिको आयव्ययको विश्लेषण गर्दा निज राम कुमार श्रेष्ठको कुल आय आर्जन रू.६,९०,१६,६२७.४० मा निजले गरेको कुल खर्च (व्यय) रू.११,३५,४४,२९४.३८ घटाउँदा हुन आउने रू.४,४५,२७,६६६.९८ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको हुँदा निजले नेपाल सरकारको शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव (बिशिष्ट श्रेणी) तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालयको मन्त्री जस्तो सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफनो पदिय हैसियतको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आयो ।

पूर्व सचिव एवम पूर्व मन्त्री राम कुमार श्रेष्ठले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज राम कुमार श्रेष्ठलाई बिगो रू.४,४५,२७,६६६.९८ (अक्षरूपी चार करोड पैचालीस लाख सत्ताईस हजार छ सय छैसठ्ठी पैसा अन्ठान्नब्बे मात्र) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको सजाय हुनका साथै निजले नेपाल सरकारको पूर्व सचिव एवम् पूर्व मन्त्रीसमेत भई सार्वजनिक पदको जिम्मेवारीमा रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदाबी लिने र साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति तथा सो सम्पत्तिबाट बढेबढाएको चलअचल सम्पत्ति घरतर्फ, जग्गातर्फ एवं बैंक मौज्दात गरी रु. ६८,५०,९५३.९४ (अठसठ्ठी लाख पचास हजार नौ सय त्रिपन्न रुपैया चौरान्नब्बे पैसा) समेत रोक्का राखी जफत हुन र अपुग बिगो  रू.३,७६,७६,७१३.०४ (तीन करोड छहत्तर लाख छहत्तर हजार सात सय तेह्र रुपैया चार पैसा) र सो को कानुनबमोजिम हुन आउने ब्याजसमेत आरोपितहरुको नाममा रहेको घर, जग्गाजमिन रोक्का राख्नको लागि सम्बन्धित निकायलाई लेखी पठाई रोक्का राख्ने र निज राम कुमार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठको नाममा रहेको जग्गामा बनेको घरसमेतको स्रोत पुगेको सम्पत्तिसमेतबाट असुलउपर हुन मागदाबी लिइएको छ ।

त्यसै गरी निज राम कुमार श्रेष्ठले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी निजकी श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १६ग, दफा २९ उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ तथा प्रतिवादी सरस्वती श्रेष्ठको नाममा रहेको स्रोत खुलेको सम्पत्तिबाट नपुग बिगो भरिभराउ गर्ने प्रयोजनको लागि समेत निज सरस्वती श्रेष्ठ र सरोज श्रेष्ठलाई प्रतिवादी कायम गरी निजहरुको नाममा रहेको घर, जग्गा तथा बैंक खातासमेत रोक्का राखी जफत गर्न मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

     प्रवक्ता
श्याम प्रसाद भण्डारी