लण्डनका मेयर सुनील चोपडाले गरे गुरु ट्राभल्सको अवलोकन
हाल नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य, लण्डन साउथवार्कका मेयर सुनील चोपडा तथा वहाँकी धर्मपत्नीले नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडको प्रधान कार्यालय भ्रमण गर्नुभयो । गुरु ट्राभल्स लिमिटेडबाटै ट्राभल्स सेवा लिई नेपाल भ्रमण गर्न आउनुभएका वहाँलाई संस्थाका अध्यक्ष विज्ञान राज शर्मा, वरिष्ठ सल्लाहकार तथा अमेरिकाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, संस्थापक तथा बेलायतका चर्चित व्यवसायी पशुपति भण्डारी एवम् संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले हार्दिक स्वागत गर्नुभयो ।
सन् २०१० मा भारतीय मूलका प्रथम काउन्सिलर निर्वाचित चोपडाले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेट गर्नुका साथै श्रीपशुपतिनाथको दर्शन गर्नुभएको थियो । वहाँको सम्मानमा गुरु टाभल्स लिमिटेडले काठमाडौंमा रात्रीभोजको समेत आयोजना गरेको छ । आफ्नो सम्मानमा आयोजित रात्रीभोजमा सरिक भएर मायाको चिनो ग्रहण गर्दै वहाँले संस्थाको भ्रमण संयोजनको तारिफ गर्दै आतिथ्यका लागि कृतज्ञता प्रकट गर्नुभयो ।
प्रधान कार्यालयमा आयोजित समारोहमा बोल्दै चोपडाले सुन्दर नेपाल र सहृदयी नेपालीहरुको खुलेर प्रशंसा गर्नुभयो । नेपाल हिन्दुधर्म र सभ्यताको केन्द्र, ऋषिहरुको तपोभूमि भएकोले सांस्कृतिक पर्यटनको अथाह सम्भावना बोकेको राष्ट्र भएको एवम् गुरु ट्राभल्सजस्तो पूर्ण व्यावसायिक तथा प्रतिवद्ध संस्थाले यस क्षेत्रमा नयाँ कोसेढुंगा स्थापित गर्ने अपेक्षा वहाँले राख्नुभयो ।
संस्थाको तर्फबाट स्वागत गर्दै अध्यक्ष शर्माले चोपडाले देखाउनुभएको विशेष आत्मीयताप्रति कृतज्ञता व्यक्त गर्नुभयो । व्यवसायिक र संस्थागत विकासमा यस भ्रमणले प्रेरणा जागेको बताउँदै वहाँले आगामी दिनमा लण्डन शहर र बेलायतबाट पर्यटक भित्राउन साथ र सहयोगको अपेक्षा राख्नुभयो । संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले हार्दिक स्वागत गर्दै भविष्यमा पनि यस्तै सद्भावको कामना गर्नुभयो ।
प्रतिकृया दिनुहोस्