January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

ब्याडमिन्टनमा प्रिन्सको छलाङ

ब्याडमिन्टनमा प्रिन्सको छलाङ

फागुन २९,काठमाडौं ।
ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन् । नेपाली खेलाडीले प्राप्त गरेको यही नै अहिलेसम्मकै सर्वाधिक सफलता हो ।
विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) ले बुधबार सार्वजनिक गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थानमा उक्लिएका हुन् । यसअघिको बरियतामा प्रिन्स १०औँ स्थानमा थिए । प्रिन्सले प्राप्त गरेको बरियता विश्व जुनियर ब्याडमिन्टनतर्फ अहिलेसम्मकै उकृष्ट नतिजा हो ।
१७ बर्षीय प्रिन्सले गत जनवारीमा नेपालमा सम्पन्न प्रेसिडेन्ट कप इन्टरनेशनल च्याम्पियनसीपको फाइनल पुगेका थिए । उनी फाइनलमा भारतका मिराओ लुवाङसँग पराजित भएका थिए ।
हालै जर्मनीमा सम्पन्न जर्मन इन्टरनेशनल सिरिजमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि उनको बरियतामा उल्लेख्य सुधार आएको हो ।
प्रिन्सले ११ प्रतियोगिता खेल्दै १० हजार ४०० अङ्क जोडेका छन् । प्रिन्सले हालै सम्पन्न डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए । डच जुनियर इन्टरनेशनलमा उनले खेलेका तीन खेलमा दुईमा जित र एउटामा हार तथा जर्मन सिरिजमा चार खेलमा तीन जित तथा एउटामा हार व्योहोरेका थिए ।
यसअघि महासङ्घले गत पुस अन्तिम साता निकालेको विश्व बरियतामा उनी ११औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा मङ्सिरमा ३२औँ स्थानमा थिए । प्रिन्स बीडब्लुएफको जुनियर र सिनियर दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्ने एक्लो नेपाली खेलाडी हुन् ।
दार्चुला सदरमुकाम खलङ्गा घर भएका १७ वर्षीय प्रिन्स हाल ललितपुरको जाउलाखेलीस्थित डाँफे इङ्लिस बोर्डिङ स्कूलमा कक्षा ९ मा अध्ययनरत छन् । हालसम्म उनी कुनै पनि विभागीय टोलीमा आवद्ध छैनन् ।
विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यू–१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्ने गर्छ ।

Advertisement