May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै, के छन् सुविधा ?

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै, के छन् सुविधा ?

वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ ।

Advertisement

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको सामाजिक सुरक्षा कोष कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो । उक्त योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ ।

Advertisement

वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ । उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौँ श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको थियो ।

ट्रेड युनियन सङ्घ सङ्गठनले लामो समयदेखि अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन माग गर्दै आएका थिए । नेपालको औपचारिक क्षेत्रका श्रमिकले तीन वर्षदेखि सामाजिक सुरक्षा योजनाबाट लाभ लिन थाले पनि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिक त्यसबाट बञ्चित हुँदै आएका थिए । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन पैरवी गर्दै आएको थियो ।

कोषमा आबद्ध भएपछि वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेकाहरूले नेपाल सरकारले औद्योगिक क्षेत्रका श्रमिकका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१।३३ प्रतिशत अर्थात् न्यूनतम २ हजार र बढीमा यसको तीन गुण बढीसम्म रकम जम्मा गर्न सक्नेछन् ।

जम्मा गरेको रकम मध्ये ७.४८ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा र वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत जाने कोषले जनाएको छ ।  कोषमा योगदान गर्नु पर्ने ६ महिनाभन्दा बढी अवधिको रकम अग्रिम रूपमा जम्मा गर्नेहरूलाई १० प्रतिशतसम्म छुट दिने कोषले जनाएको छ । यस्तै विदेशमा आफूले कमाएको रकममा आफ्नो खर्च कटाई ७० प्रतिशतसम्म बैङ्किङ च्यानलबाट पठाएको प्रमाण पेस गरेमा भने वृद्ध अवस्था सुरक्षा योजना बाहेकका योजनाहरूमा जम्मा गर्नु पर्ने रकममा २० प्रतिशतसम्म छुट पाइने छ ।

नयाँ श्रम स्वीकृति लिनेलाई आजदेखि कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको छ । हाल दैनिक करिब दुई हजार जनाले श्रम स्वीकृति लिने गरेका छन् । श्रम स्वीकृति लिनेले कोषमा एक महिनाको योगदान रकम जम्मा गर्नुपर्ने छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले छ महिनाको योगदान रकम जम्मा गर्दा १० प्रतिशत छुट पाउने प्रवक्ता पन्थीले बताउनुभयो । विदेशमा रहेका श्रमिकले कोषको वेभसाइटबाट सूचीकरण गरी योगदान रकम जम्मा गर्न सक्नेछन् ।

स्वीकृत कार्यविधिबमोजिम वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम रु दुई हजार मासिकरूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् ।

प्रवक्ता पन्थीका अनुसार कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम सङ्कलन भएको छ । कोषले योगदानकर्तालाई रु तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ । विसं २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो । सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि समेट्ने गरी ‘वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यविधि २०७९’ ल्याएको छ ।  वैदेशिक रोजगारमा रहेकाहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि दुर्घटना बिमा, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्थामा पेन्सन सुविधा प्राप्त हुने गरी कार्यविधि बनाइएको छ ।

यो योजना अन्तर्गत योगदानकर्ता ६० वर्ष पूरा भएपछि निवृत्तिभरण योजनामा जम्मा भएको रकम र त्यसको प्रतिफलसमेत जोड्दा हुन आउने रकमलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निवृत्तिभरको रूपमा पाइन्छ। यदि योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै ज्यान गएमा भने उसको हकवालाले यो रकम प्राप्त गर्ने छन् । वैदेशिक रोजगारीबाट स्वदेश फर्किएपछि स्वरोजगार, औपचारिक र अनौपचारिक योजनाहरूमा सार्न पनि सकिने कोषले जनाएको छ ।