प्रहरीको पोशाकमा भ्रष्टाचार, कमिशनवापत ठेकेदारले बुझाए डेढ करोड
काठमाडौं । नेपाल प्रहरीमा मौलाएको कमिसनको खेलले गर्दा गुणस्तरहीन लत्ताकपडा खरिद हुँदै आएको छ । ठेकेदार र केही प्रहरी अधिकारीबीच हुने कमिसनको खेलको असर सामानको गुणस्तरमा पर्न गएको हो। यस वर्ष मात्र होइन विगतदेखि नै प्रहरी प्रधान कार्यालयले खरिद गर्ने लत्ताकपडामा ठूलै परिमाणको कमिसनको खेल हुँदै आएको छ। यस वर्ष पनि कमिसनकै कारण गुणस्तरहीन लत्ताकपडा, डिएसएम बुट, पार्क ज्याकेट खरिद गरिएको स्रोतको दाबी छ। ठेकेदार कम्पनीहरुले प्रहरीको प्रबन्ध शाखामा काम गर्ने कर्मचारीलाई मात्रै १० प्रतिशत कमिसन बुझाएर गुणस्तरहीन सामान बुझाउने गरेका छन्। ‘ठेकेदारले भुक्तानीको सुरु रकम जति आउँछ त्यसको १० प्रतिशत कमिसनबापत बुझाउने गरेका छन्। जुन रकम माथिसम्मै पुग्छ’, स्रोतले भन्यो, ‘यस वर्ष ७३ करोड रुपियाँको ठेक्कामा मोबिलाइजेसन खर्चबापत निकासा भएको १५ करोडको १० प्रतिशत कमिसन करिब एक करोड ५० लाख रुपियाँ ठेकेदार कम्पनीहरूले बुझाइसकेका छन्। कमिसन रकम प्रबन्ध शाखामा काम गर्ने सबै तहका प्रहरी कर्मचारीदेखि नेतृत्व तहसम्म पुग्छ।’ प्रहरी प्रधान कार्यालय चालु आर्थिक वर्ष २०७५।७६ को बजेट खर्च शीर्षक नं २११२१ (पोसाक)मा विनियोजित रकममध्येबाट भुक्तानी भएको थियो। प्रबन्ध शाखाले सोही बजेटअन्तगर्तको २० प्रतिशत पेस्की भुक्तानी गरिसकेको छ।नागरिक दैनिकबाट
प्रतिकृया दिनुहोस्