April 30, 2025, Wednesday
[nepali_today_date]

११ महिनाको वर्ष !

११ महिनाको वर्ष !

२२ कार्तिक , २०७६ ।

Advertisement

काठमाडौं । २०७७ साललाई ११ महिना बनाउने पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिको प्रस्ताव सरोकारवालाले अस्वीकार गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित पर्वसुधार समितिले पुनः अघि सारेको ११ महिने वर्ष्विरुद्ध मन्त्रालयबाटै गठित नेपाल पञ्चांग निर्णायक समितिले लागू हुनै नसक्ने बताएको छ।

Advertisement

पर्वसुधार समितिले पञ्चांगसँग छलफल बिनै ०७७ साललाई ११ महिना बनाउने अवधारणा बिहीबार सार्वजनिक गरेको हो। यसअघि ०६५ सालमा मन्त्रिपरिषद्ले निर्णय गरी ०६७ साललाई ११ महिने बनाउने भनी घोषणा गरेको थियो। पर्वसुधार समितिका अध्यक्ष हरिनारायण मल्लका अनुसार ०६६ सालको सौर्य महिना चैतलाई हटाइ त्यसको सट्टा ०६७ वैशाख बनाउने निर्णय गरेको थियो।

‘धार्मिक पर्वहरूको समय बिग्रेकाले पर्व सुधार आवश्यक छ’, उनले भने, ‘चार दिसा बिग्रँदा चार धामको आधार नष्ट हुन्छ त्यसैले सच्याउनुपर्छ।’ उनका अनुसार धर्मशास्त्रका शब्दहरू नबदल्न राशि नक्षत्र र महिनाका नाउँ पनि १ र १ महिना सार्न आवश्यक छ ।

पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा.रामचन्द्र गौतमले सरकारले १० वर्षपछि पुनः ०७७ साललाई ११ महिना बनाउने विषय शास्त्रसिद्ध कुरो नभएकाले लागू गर्न असम्भव भएको बताए । यसमा पञ्चांग सहमत हुनै नसक्ने उनको भनाइ छ। ‘भारतमा १५० वर्षदेखि ११ महिना बनाउनुपर्छ भने पनि अहिलेसम्म सम्भव भएको छैन’, गौतमले अन्नपूर्णसँग भने, ‘७२ वर्षमा एक दिन वर सर्छ तर सूर्य र चन्द्रमाको गति नमिलेजस्तो देखिए पनि २७ डिग्री पुगेपछि आफैं मिल्छ ।’

२१६ वर्षसम्म नमिलेमात्र सच्याउनुपर्ने उनको तर्क छ। उनले भने, ‘राजनीति र भूगोल फरक भए पनि दक्षिण एसियाको संस्कृति एउटै भएकाले सच्याउने हो भने दक्षिण एसियाका सबै देश एक भएरमात्र सच्याउनु पर्छ।’

अन्तर्रा्ष्ट्रिय पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं नेपाल पञ्चांगका पूर्वअध्यक्ष प्राध्यापक डा. माधव भट्टराईले सरकार यसअघि यो विषयमा चुकिसकेकाले पुनः मन्त्रिपरिषद्बाट निर्णय गर्नुअघि गम्भीर भएर सोच्नुपर्ने बताए। ‘धर्मसंस्कृतिजस्तो संवेदनशील विषयमा सरकारले हचुवाको भरमा निर्णय गर्नै हुँदैन, जनताले त २०६५ सालमै सरकारलाई ११ महिना मान्दैनौं भनेर जवाफ दिइसके’, उनले भने। उनका अनुसार ११ महिना बनाउँदा महाशिवरात्री मनाउन भारतबाट आउने हजारौंको संख्यामा साधुसन्त र जोगी फागुनमा आउँदा माघमै सकिएको हुन्छ। भट्टराईले भने, ‘११ महिना लागूको निर्णय भयो भने सारा संसार अर्को्तिर हुन्छ। पञ्चांग तयार पार्दा मिनेटमात्र होइन सेकेन्डको महत्व हुन्छ।’
यो समाचार आजको अन्नपूर्ण पोष्टमा गोपीकृष्ण ढुंगानाले लेखेका छन् ।