April 21, 2025, Monday
[nepali_today_date]

अमेरिका जान खोज्दा बन्धक मलावीमा ६ नेपालीको उद्धार, ५ जना अझै गिरोहको कब्जामा

अमेरिका जान खोज्दा बन्धक मलावीमा ६ नेपालीको उद्धार, ५ जना अझै गिरोहको कब्जामा

२७ कार्तिक २०७६

Advertisement

काठमाडौँ — दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मलावीमा ३२ दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्युरोले उद्धार गरेको छ । अमेरिका जाने आसमा मानव तस्करको फन्दामा परेका उनीहरू सोमबार राति काठमाडौं आइपुगेका छन् ।

Advertisement

चारै जना एक वर्षअघि भारतीय एजेन्टको पछि लागेका थिए । एजेन्टले बोलिभिया हुँदै अमेरिका पुर्‍याउने आश्वासन दिएको थियो । शारीरिक र मानसिक यातना दिएर राखिएका उनीहरूलाई ब्युरोले मलावी प्रहरीसँगको समन्वयमा छुटाएको हो ।

गिरोहले उनीहरूलाई भियतनाम, इथियोपिया, मादागास्कर, जोर्डन, दुबई, अजरबैजान हुँदै मलावी पुर्‍याएको थियो । प्रारम्भिक बयानमा उनीहरूले गुमाएको यकिन रकम नबताए पनि प्रत्येकले १५ लाख रुपैयाँभन्दा बढी फसाएको हुन सक्ने प्रहरीले जनाएको छ ।

चारै जनालाई मलावीको राजधानीबाट ३ सय किमि टाढा ब्लान्टायर सहरमा बन्धक बनाइएको थियो । सोही क्षेत्रबाट अमेरिका जाने नाममा अलपत्र परेका अन्य दुई नेपालीको समेत उद्धार गरिएको छ । ती दुई जना टिकट खर्च नजुटेकाले फर्कन पाएका थिएनन् । चार जनालाई भने परिवारले नै टिकट व्यवस्था गरिदिएका थिए । मलावी प्रहरीले मानव तस्करलाई आश्रय दिने घरधनी नाजिर अहमदलाई पक्राउ गरेको छ । उद्धार भएकाहरूले मलावीमै अन्य पाँच नेपाली पनि मानव तस्कर गिरोहको फन्दामा परेको तर उनीहरू प्रहरीको सम्पर्कमा आइनसकेको सूचना ब्युरोलाई दिएका छन् ।
यो खबर जनकराज सापकोटाले आजको कान्तिपुरमा लेखेका छन् ।