६४ करोड थान नयाँ नोट चीनमा छाप्ने राष्ट्र बैंकको तयारी

६४ करोड थान नयाँ नोट चीनमा छाप्ने राष्ट्र बैंकको तयारी

बैशाख ७, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरको ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ । बैंकले नोट छपाईको लागि चीनको एक प्रिन्टिङ प्रेस कम्पनीसँग खरिद सम्झौता समेत गरेको राष्ट्र बैंकले जनाएको छ ।


बैंकले ५ रुपैयाँ दरका ३० करोड थान नोट र १० रुपैयाँ दरका नोट ३४ करोड थान छाप्न ‘चाइना बैंक नोट प्रिटिङ एन्ड मिन्टिङ कर्पोरेनि’ सँग सम्झौता गरेको हो । बैंकले नोट छाप्ने प्रक्रिया तीन महिनाअगाडि थालेको थियो । नयाँ गभर्नर महाप्रसाद अधिकारीको पहिलो हस्ताक्षरयुक्त कुल ४९ करोड रुपैयाँ नयाँ नोट तिहारको हाराहारीमा आउनेछ ।

केन्द्रीय बैंकले ५ रुपैयाँ दरको नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्न राष्ट्र बैंकले गत १४ जनवरीमा टेन्डर आह्वान गरेको थियो । त्यसमा आएको आवेदनका आधारमा चाइना बैंक नोट प्रिटिङ एन्ड मिन्टिङ कर्पाेरेसनलाई नोट छपाइको जिम्मा दिइएको हो । सो कम्पनीसँग ४३ लाख ९७ हजार ५ सय अमेरिकी डलरमा यस्तो सम्झौता गरिएको हो ।


यसैगरी, १० रुपैयाँ दरका लागि कम्पनीसँग ४१ लाख ४० हजार ४ सयमा खरिद सम्झौता भएको छ । नोट छाप्नुपूर्व नेपाल राष्ट्र बैंकले ‘ग्लोबल टेन्डर’ आह्वान गर्दछ । जसमा विश्वका झन्डै २० वटा कम्पनीले आवेदन दिने गर्छन् । ‘प्रि क्वालिफिकेसनमा’ परेका कम्पनीको प्राविधिक र आर्थिक सर्वेक्षण अध्ययन गरेपछि नेपाल राष्ट्र बैंकले कम्पनी छनोट प्रक्रिया टुंग्याउँछ । नेपालले पहिलोपटक २०७३ सालमा चीनमा १ हजार रुपैयाँ दरका नोट छापेको थियो । यसअघि नेपालका नोटहरू जर्मनी, स्विडेन, बेलायत, नेदरल्यान्ड, क्यानडा, फ्रान्स, रसिया, इन्डोनेसियालगायतका मुलुकमा नेपाली नोटहरु छाप्ने गरेका थिए ।