ऋण नतिर्दा र चेक बाउन्स गराउँदा ८९ हजारको को बैंक खाता बन्द
बैंकले दिएको भाका अनुसार ऋण नतिर्नै र चेक दिएर पनि खातामा पैसा नहुने ८९ हजार ब्याक्तीको बैंक खाता रोक्का भएको छ । यो संख्या २०४७ सालयता बैंक तथा वित्तीय संंस्थाहरुमा कर्जा लिएर नतिर्ने ऋणी र चेक बाउन्समा परेर पनि पैसा नतिर्ने ऋणीहरुको हो । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिरेका तथा बैंकको सम्पर्कमा नआएका ऋणीहरु यसरी कालोसूचीमा पर्ने गरेका छन् ।
कर्जा सूचना केन्द्रका अनुसार ऋण तिर्न र बैंकले धितोबाट असुल समेत गर्न नसकेका ३९ प्रतिशत ऋणी छन् भने ६१ प्रतिशत चेक बाउन्समा परेकाहरु छन् ।
ऋण नउठेपछि बैंकहरुले धितो लिलामी गर्नुअगाडि उनीहरुलाई कालोसूचीमा राखेर धितो असुल नगरुन्जेल वित्तीय सेवाबाट वञ्चित गराउँछ । जसका कारण बैंकको कालो सूचीमा पर्नेको संख्या बढेको हो । चालू आवको वैशाखमा मात्रै ४० हजार ग्राहकको खाता बन्द भएको छ । खाता बन्द हुँदा सम्बन्धित ग्राहक वित्तीय अधिकारबाट समेत पूर्णरुपमा वञ्चित भएका छन् ।
कर्जा सूचना केन्द्रका अनुसार जेठ २४ गतेसम्म ८९ हजार ग्राहक चेक बाउन्स र ऋण नतिरेका कारण ‘ब्लक’ हुनपुगेका छन् । यसमा चालू आर्थिक वर्षको वैशाखसम्म ४० हजार बैंकका ग्राहक थपिएको केन्द्रले जनाएको छ ।