क्रिकेटका प्रिय कप्तान पारसले लिए कप्तानबाट विदाई, खेल पनि छोडने संकेत

क्रिकेटका प्रिय कप्तान पारसले लिए कप्तानबाट विदाई, खेल पनि छोडने संकेत

२८ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले फुकुवा गरे भोलिपल्टै सबैलाई आश्चर्यमा पार्नेगरी कप्तान पारस खड्काले कप्तानीबाट राजिनामा दिएका छन् । उनले यसअगाडि कप्तानी छाड्ने कुनै संकेत गरेका थिएनन् ।
एक दशकभन्दा बढि समयदेखि अनवरत उनी नेपाली क्रिकेटप्रेमीको ढुकढुकीमा राज गरिरहेका छन् । नेपाली क्रिकेटका धेरै कीर्तिमान उनको नाममा छन् । ब्याटिङमा त उनी नेपालको मेरुदण्ड नै हुन् । नेपालको क्रिकेटलाई डिभिजन ५ देखि एक दिवसीय स्टाटससम्मको यात्रामा उनकै सबैभन्दा ठूलो भूमिका छ ।
पारसको नाम अगाडि कप्तान झुण्डिन थालेको १० वर्ष भयो । यसबीचमा नेपाली क्रिकेटले अनेकन आरोह–अवरोह व्यर्होयो । हार–जीतका श्रृंखलाहरु आए । तर, पारसको कप्तानीमा कहिल्यै कसैले प्रश्न उठाएन । उनी कहिल्यै कुनै विवादमा मुछिएनन् । नेपालमा यस्ता पात्रहरु निकै दुर्लभ छन् ।
एउटा ‘लिडर’ मा हुनुपर्ने धेरै गुण पारससँग छन् । छिटो निर्णय लिनसक्ने, तनावको बेला संयमित बस्न सक्ने, संकटको क्षणमा आफैं अगाडि सर्ने, आफ्नो खेलबाट अन्य खेलाडीलाई प्रेरणा दिनसक्ने, मिडियासँग स्पष्ट र तार्किक कुरा गर्ने आदि । यी यावत् गुणहरुले गर्दा नेपाली क्रिकेटले पारसको विकल्पमा अर्को नाम सोच्दै सोचेन । आखिर उनीसँग क्रिकेट खेल्ने उमेर अझै केही वर्ष बाँकी नै छ ।

पारसको स्वभाव के छ भने एकपटक निर्णय लिएपछि त्यसबाट पछि हट्दैनन् । त्यसैले पारसलाई घोषणा फिर्ता लिन क्रिकेट समर्थकदेखि क्यानका पदाधिकारीसम्मबाट दबाव त पर्न सक्छ, तर उनी निर्णयबाट ब्याक हुन मुश्किल छ ।
कप्तानी त्याग्ने घोषणा गरेका पारसले खेलाडीका रुपमा पनि केही समय विश्राम लिने बताएका छन् । यसले अझै संशय बढाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा उनले केही समय विश्राम लिने र त्यसपछि ‘टिममा परे’ फर्किन सक्ने बताए । उनको विश्राम लम्बिएर कतै सन्यासमा परिणत हुने त होइन भन्ने चिन्ता पनि बढेको छ । अहिले ३१ वर्षमा हिँडिरहेका पारससँग अझै पनि कम्तीमा ५–६ वर्ष खेल्ने समय छ । त्यसैले नेपाली क्रिकेटले यति चाँडै उनलाई टिमबाट बिदा गर्न सक्दैन । साथै, नयाँ बन्ने कप्तानलाई मैदानभित्र र बाहिर उनको मार्गदर्शन आवश्यक छ । पारसले कप्तानी छोड्नसाथ नेपाली क्रिकेट धराशायी हुने अवस्था नआउला तर खेलाडी पारस पनि टिममा भएनन् भने चाहिँ ठूलै क्षति पुग्ने छ ।