रुपन्देहीमा ७८ वर्षीय बृद्धमा र्यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखियो
बैशाख १०, रुपन्देही ।
पश्चिम नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा पहिलो पल्ट ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ । प्रदेश ५ मा र्यापिड टेस्टमा कोरोना संक्रमण पोजेटिभ आएको यो पहिलो पटक घटना हो ।
चिसापानी सामुदायिक अस्पतालमा बर्दघाट नगरपालिका–४ का ती ७८ वर्षीय पुरुषको र्यापिड टेस्ट गरिएको थियो । दुई पटकसम्म टेस्ट गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
उनी एक वर्ष अगाडि अमेरिकाबाट फर्किएका थिए । छातिमा समस्या आएपछि जाँच गराउन चिसापानी अस्पताल पुगेका थिए । उनलाई नेपालमै कसैबाट कोरोना सरेको अनुमान गरिएको छ । हाल उनलाई जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीमा भर्ना गरेर चिकित्सकहरुको निगरानीमा राखिएको छ । उनको थ्रोट स्वाब संकलन गरी थप परीक्षणका लागि भैरहवा पठाइएको छ ।