कोरोना भाइरसबारे सांसदको सुझाव यस्तो

कोरोना भाइरसबारे सांसदको सुझाव यस्तो

चैत ०९, काठमाडौं ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आग्रह गरेका विषयहरुको कार्यान्वयन गर्न संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने काठमाडौं उपत्यकाका सांसदहरूले आग्रह गरेका छन् ।

काठमाडौं उपत्यकाका सांसदहरूको शनिबार काठमाडौंको मन्डिखाटारमा बसेको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको खतरा बढ्दै गएको अवस्थामा सरकारले लागू गरेका विषयहरुको कार्यान्वयन गर्न सांसदहरुले सम्पूर्ण नागरिकहरुलाई अपिल गरेका हुन्।

सांसदहरूले कोरोना संक्रमण भए नभएको परीक्षणको दायरा फरकिलो बनाउन र उपत्यका बाहिर पनि ठाउठाउँमा गर्न तथा स्वास्थ्य मन्त्रालयले शुक्रबार गरेका गरेका निर्णयहरु तत्काल कार्यन्वयनमा लैजान आग्रह गरेका छन् । साथै नागरिकले उच्च सतर्कता अपनाउनुपर्ने र त्यसका लागि सरकारले भनेका विषयहरुको पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं सांसद माधवकुमार नेपालले कोरोना भाइरसबाट पर्न सक्ने खतरा, सरकारले चालेको कदम, जनतामा जगाउनुपर्ने जनचेतना र भाइरसको संक्रमण, रोकथाम एवं नियन्त्रणको विषयमा बैठकमा छलफल भएको बताए ।

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरिरहेको काममा अझ केही प्रभावकारी बनाउन आग्रह गर्ने विषयमा छलफल भएको बताए। उनले नेपाल-भारत सिमा नाका बन्द गर्ने, अस्पतालहरुको तयारीका लागि सरकारले गरेको निर्णयको तत्काल कार्यान्वयन गर्न आग्रह गर्ने विषयमा छलफल भएको बताए।

छलफलमा सांसदहरुले कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले निर्वाह गरेको भूमिका चित्त बुझ्दो नभएको बताएका थिए।  यसका साथै कोरोना भाइरसको संक्रमणका कारण जोखिम बढ्दै जाँदा अर्थतन्त्रमा देखिने जटिलताका विषयमा सरकारले अहिलेदेखि नै पूर्वतयारी गर्नुपर्ने सुझाव सांसदहरूको बैठकले दिएको छ ।