सरकारले ‘बेमौसमी बाँसुरी’ बजायो, अध्यादेश फिर्ता गर्नू : नेपाली कांग्रेस

नेपाली कांग्रेसले सोमबार जारी भएका २ अध्यादेशप्रति आपत्ति जनाएको छ । प्रमुख प्रतिपक्ष दलको नेताविना संवैधानिक परिषद्ले निर्णय लिने र राजनीतिक दल फुट्न सहज हुने गरी अर्को पनि अध्यादेश प्रमाणीकरण भएपछि कांग्रेले आपत्ति जनाएको हो ।

‘कोरोनाको संक्रमणसँग पुरै विश्व एक भएर लडिरहेको छ । यस्तो बेलामा नेपाल सरकारले आज संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जे जारी गरेको छ’, उनले भनेका छन्, ‘त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ। दुवै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति छ।’ काग्रेशले भनेको छ ।

कोरोनाको संकटमा सरकारलाई राजनीतिक विमत्तिबाट उठेर साथ दिइरहेको जनाउँदै शेरबहादुर देउवाले केपी ‌ओली नेतृत्वको सरकार सत्ता उन्मादतर्फ लागेको बताएका छन्।

देउवाले कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा लागि काँग्रेसले सरकारलाई हरसंभव सघाउँदै बताउँदै यतिबेलाको प्रधान दायित्व  कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउ भएको देउवाले बताए ।  उनले भने, ‘यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो ।’

 यस्तो छ विज्ञप्ति

कोरोनाको संक्रमणसँग पूरै विश्व एक भएर लडिरहेको छ । यस्तो बेलामा नेपाल सरकारले आज संवैधानिक परिषद्सम्बन्धी र राजनीतिक दलसम्बन्धी २ अध्यादेश जे जारी गरेको छ, त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ ।

दुवै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति छ । कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरूबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंभव सघाउँदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो ।

यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बाँसुरी’ हो । आजको संविधान निर्माण गरिँँदा राजनीतिक स्थिरताको बन्दोबस्त गरिएको थियो । सँगैमा संवैधानिक नियुक्तिहरूमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो । 

नागरिक जीवन सङ्कटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै व्यवस्थालाई हठात् उलङ्घन गरेको छ ।   

नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्मविपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रूपले केन्द्रित हुन सरकारलाई अपिल गर्दछ ।  

जय नेपाल !  

शेरबहादुर देउवा 

सभापति, नेपाली कांग्रेस