मेडिकल कलेजमा कसले राख्यो पेस्तोल ?
काठमाडौँ, चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजको होस्टेलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।होस्टेलमा हतियार राखिएको खबर आएपछि प्रहरीले शनिबार दिउँसो होस्टेलमा छापा मारेको थियो ।
सरकारले तोकेकोभन्दा विद्यार्थीहरुसँग बढी शुल्क लिएको विरोधमा यहाँ विद्यार्थीहरु आन्दोलित छन् । उनीहरुले आइतबार बृहत् विरोधसभा गर्ने तयारी गरिरहेका बेला यस्तो घटना बाहिर आएको हो । होस्टेलभित्र एकथान पेस्तोल भेटिएको र थप अनुसन्धान भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । होस्टेलभित्र अमेरिकामा निर्मित ९ एमएमको एकथान अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोली भेटिएको प्रहरीले जनाएको छ । तर, पेस्तोल कसको हो र कुन अवस्थामा भेटिएको भन्ने प्रहरीले खुलाएको छैन ।
विरोधसभालाई प्रभावित बनाउन कलेज प्रशासन र प्रहरी मिलेर आन्दोलन तुहाउन खोजेको विद्यार्थीहरुले आरोप लगाएका छन् । चितवन मेडिकल कलेजमा आन्दोलनको अगुवाइ गरिरहेको चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्द हुन् । उनी सरकारबाट प्रतिबन्धित समूह नेकपाका महासचिव नेत्रविक्रम चन्दका छोरा हुन् ।