गड्डाचौकी बाहेकका सबै सीमा नाका बन्द
९ चैत काठमाण्डौ ।
कन्चनपुरमा गड्डाचौकी बाहेकका सबै सीमा नाका बन्द गरिएका छन् ।
आवतजावतका लागि प्रयोग हुँदै आएका जिल्लाका ब्रम्हदेव, दोधारा चाँदनी, बेलौरी, बेलडाँडी र पुर्नावासलगायत क्षेत्रका सीमा नाका बन्द गरिएका हुन् । कोरोना भाइरसबाट संक्रमण हुनसक्ने सम्भाव्यतालाई ध्यानमा राखेर गड्डाचौकी बाहेकका सबै सीमा नाका बन्द गरिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा भएको समन्वय समितिको बैठकले गड्डाचौकी नाका बाहेकका नाकाहरुमा हुने आवागमनलाई तत्कालका लागि बन्द गर्ने निर्णय गर्दै नेपाल भित्रिने सबै पैदल यात्रीहरुको विवरण टिपोट गरी थप स्वास्थ्य सल्लाह दिएपछि मात्र नेपाल भित्रन सक्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
बैठकले महाकाली अस्पतालको आइसोलेसन वार्ड तयारी अवस्थामा राख्न र यसका लागि आवश्यक यन्त्र उपकरण तथा स्वास्थ्यकर्मीसमेत तयारी हालतमा राख्ने निर्णय गरेको छ ।
यसका साथै, आपतकालीन अवस्थामा तत्काल प्रयोग गर्न सकिने गरी एम्बुलेन्स तयारी अवस्थामा राख्ने र जिल्लाभरका सबै एम्बुलेन्सहरुलाई आलोपालो रुपमा चौबिसै घण्टा तयारी अवस्थामा रहने व्यवस्था स्वास्थ्य कार्यालय कञ्चनपुरले मिलाउने निणृय समेत भएको छ ।
त्यस्तै, बैठकले कोरोना संक्रमण रोकथामको कार्यका लागि गड्डाचौकी नाकासहित अन्य स्थानमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको विवरण र काम गरेको अवधि समेत सम्बन्धित निकायले प्रमाणित गरी हरेक दिन अध्यावधिक गरी राख्ने, आलोपालो पद्धतीमा काममा लगाउने र अभाव हुन नपाउने गरी सबै निकायले योजना साथ जनशक्ति खटाउनेलगायतका निर्णय पनि गरेको छ ।
प्रतिकृया दिनुहोस्