एनआरएन चुनाबमा कुन देशका कति मतदाता ?
काठमाडौंमा विश्वभरका नेपालीहरुको जमघट छ । गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा सहभागी हुन उनीहरु काठमाडौं ओर्लिएका हुन् । आगामी नेतृत्व चयन गर्ने सम्मेलन भएकाले एनआरएनए गठन भएका सबै देशका प्रतिनिधि र वैकल्पिक प्रतिनिधि सहभागी भएका छन् । गैर आवासीय नेपाली संघको कार्यालयमा रहेको तथ्यांकमा ७३ हजार ९५१ जना पञ्जीकृत सदस्य र ३ हजार मतदाता संख्या देखाइए पनि काठमाडौंमा जारी विश्व सम्मेलनमा सत प्रतिशत मतदाताको उपस्थिति देखिँदैन । यातायात खर्च, विदा लगायतका विविध समस्याका कारण सबै एनआरएनहरु सम्मेलनमा सहभागी हुन सकेका छैनन् । कतिपय मतदाताचाहिँ विदेश छाडेर स्वदेशमै आइसकेकाहरु पनि देखिन्छन् । आरएनए सचिवालयका अनुसार ८१ देशमा गैरआवासीय नेपालीहरुको उपस्थिति छ । तर, आज हुने चुनावका लागि मतदाता भने एनआरएनएका प्रतितिनिधिहरु ४५ राष्ट्रमा सीमित छन् ।
एनआरएनएको विधान अनुसार ६ वटा क्षेत्रीय समितिहरु छन् । ती क्षेत्रीय समितिमध्ये सबैभन्दा बढी मत युरोप क्षेत्रीय समितिको छ भने सबैभन्दा कम मत अफ्रिका क्षेत्रको छ ।
६ वटै क्षेत्रका एनआरएनका सदस्यहरुको कुल संख्या ७३ हजार ९५१ हुन्छ । यसबाट सम्मेलनमा तीन हजार ५८ जनाले सहभागिता जनाउन पाउँछन् । तथापि आजको सम्मेलनमा करिब २५ सयको हाराहारीमा मात्र सहभागिता रहेको आयोजकहरुको भनाइ छ ।
नवौं सम्मेलनका लागि सबैभन्दा धेरै २८ हजार ७९९ सदस्य रहेको युरोप क्षेत्रका एक हजार १८३ मतदाता छन् । दुई हजार १७५ सदस्य रहेको पोर्चुगलका १२७, दुई हजार ३९७ सदस्य रहेको स्पेनका १२५, दुई हजार २७ सदस्य रहेको जर्मनीका १२५, एक हजार ६४ सदस्य रहेको डेनमार्कका १०२, दुई हजार पाँच सदस्य रहेको बेल्जियममा १३० जना प्रतिनिधि छन् ।त्यसमा पनि १३ हजार ६२९ सदस्य रहेको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बेलायतका मात्रै १७९ जना मतादाता छन् । यसले नयाँ नेतृत्वका लागि हुने चुनावमा समेत महत्वपूर्ण भूमिका खेल्छ । क्षेत्रगत मत आएको खण्डमा युरोप वा बेलायतको प्रतिनिधित्व गर्ने उम्मेदवारलाई सहयोग हुने देखिन्छ ।
युरोपपछि ११ हजार २७१ सदस्य रहेको एसिया प्यासिफिक क्षेत्रका मतदाता ६४० जना छन् । यो क्षेत्रमा पर्ने दक्षिण कोरिया, मलेसिया र जापान तीनवटै देशमा १३८÷१३८ जना मतदाता छन् । हङकङमा १००, र मकाउका ७९ जना मतदाता छन् । तेस्रो धेरै मतदाता भएको क्षेत्र मध्यपूर्व हो । यहाँको पञ्जीकृत सदस्य संख्या ८ हजार ६१२ छ । ६२० जना यहाँका मतदाता छन् । यो क्षेत्रमध्ये सबैभन्दा धेरै कतारका १४८ जना मतदाता छन् । इजराइलका १०६, ओमानका सय, कुवेतका ९८, साउदीका ७१ र बहराइनका ६० जना मतदाता छन् । ओसेनियाँ क्षेत्रबाट दुई देशको मात्रै प्रतिनिधित्व छ । अस्ट्रेलिया र न्युजिल्याण्डमा गरी ३०० मतदाता छन् । अस्ट्रेलियामा मात्रै ११ हजार ६३८ सदस्य र १७५ मतदाता छन् । न्युजिल्याण्डमा २ हजार २ जना सदस्यबाट १२५ जनाले मतदाता बन्न पाउँछन् । पाँचौं नम्बरमा रहेको उत्तर–दक्षिण अमेरिकामा ११ हजार ४४६ जना सदस्य छन् । यस क्षेत्रबाट २९७ ले मतदाता बन्न पाउँछन् । अमेरिकामा ९ हजार ८९ सदस्य र १६८ मतदाता छन् । २ हजार ३५७ पञ्जीकृत सदस्य रहेको क्यानडामा १२९ जना मतदाता रहेका छन् । सबैभन्दा कम सदस्य र मतदाता भएको क्षेत्र हो, अफ्रिका । जम्मा ६१ सदस्य र १८ मतदाता भएको यो क्षेत्रमा ६ देश छन् । युगान्डामा ६, नाइजेरियामा ४, घाना र केन्यामा ३/३ गिनीका एकजना मतदाता रहेका छन् ।
प्रतिकृया दिनुहोस्