विप्लव समूहको राप्ती ब्यूरो नै प्रहरी नियन्त्रणमा, विप्लवका दाजु सहित २१ नेता पक्राउ
३० असोज, काठमाडौं । नेपाल प्रहरीले प्रतिबन्धित विप्लव समूहको राप्ती ब्युरो बैठक स्थलमा घेरा हालेर २१ जना नेताहरुलाई पक्राउ गरेको छ । ५ नं. प्रदेश प्रहरी कार्यालय, तुल्सीपुर र जिल्ला प्रहरी कार्यालय, दाङको टोलीले विशेष सुराकीका आधारमा बैठकस्थल घेरेर २१ जना नेतालाई पक्राउ गरेको हो ।
भारतसँग सीमा जोडिएको त्यस क्षेत्रमा रहेको घना जंगलभित्र केही घर थिए । तीमध्ये विदेश बस्दै आएका ज्ञानेन्द्र ओलीको घरमा उनीहरुको बैठक बसिरहेको समय प्रहरीले घेरा हालेर पक्राउ गरेको हो । राजपुर गाउँपालिका (४, मरेठामा विप्लव समूहका नेता तीन दिनदेखि बसिरहेका थिए । निरन्तरको निगरानी पश्चात गएराति १ बजे प्रहरीले छापा हानेर पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विप्लवका दाजु चन्द्रबहादुर चन्द ‘बीरजंग’लगायत छन् । पक्राउ पर्ने अन्यमा अधिकांश राप्ती ब्युरोका नेताहरु छन् । पक्राउ पर्नेहरुमा मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (बीरजंग), केन्द्रीय सदस्य एवम् राप्ती व्यूरो इञ्चार्ज सुवास बाँठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीलगायत छन् । राजपुरबाट गढवा चौकी हुँदै ती नेताहरुलाई जिल्ला प्रहरी कार्यालय, घोराहीमा ल्याएर हिरासतमा राखिने छ ।
पक्राउ परेकाको साथबाट महत्वपूर्ण दस्तावेज, चन्दा मागिएका विवरण, ३२ थान मोबाइल, विष्फोटक पदार्थलगायतका सामग्री बरामद गरेको प्रहरी अधिकृतले जनाएका छन् ।
प्रतिकृया दिनुहोस्