‘ओली-प्रचण्ड’ सरकारविरुद्ध विप्लवले गरे नेपाल बन्दको घोषणा
काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता कार्यकर्तालाई पक्राउ गरेको विरोधमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध सडक बन्द लगायतका आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ ।
नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंगसहित दुई दर्जन नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा देशभर चरणवद्ध संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
यस्ता छन चरणबद्ध संघर्षका कार्यक्रम
कार्तिक ३ गते जुलुस र प्रदर्शन
कार्तिक ५ गते कोणसभा र पिंढीसभा
कार्तिक ७ गते ओलीको पुत्ला दहन
कार्तिक ९ गते विरोध प्रदर्शन
कार्तिक १५ गते मसाल जुलुस
कार्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्का जाम गर्ने
विप्लवले सामाजिक फासिवादी केपी–पिके सरकारले पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई रातको २ बजे गिरफ्तार गरेको भन्दै घोर आपत्ति गर्दै तत्काल रिहा नगरिए कडा प्रतिरोध गरिने एक बिज्ञप्ति मार्फत चेतावनी समेत दिइसकेका छन।
प्रतिकृया दिनुहोस्