January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

आलम नख्खु जेलमा

आलम नख्खु जेलमा

शनिवार ३० कात्तिक २०७६
नेपाली बब्बरसिंहको उपमा पाएका सांसद, पूर्वमन्त्री एवं कांग्रेस नेता महोम्मद अफताब आलमलाई रौटहटबाट ललितपुरको जेलमा ल्याइएको छ । रौतहटको राजापुर बमकाण्डका मुख्य आरोपी आलमलाई काठमाण्डौँ ल्याइएको छ । जिल्ला अदालत रौतहटले थुनामा राख्न हिजो आदेश दिएपछि सुरक्षाको कारण देखाउदै आलमलाई गएराति काठमाण्डौ ल्याइएको हो । उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।

Advertisement

आफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने मोहम्मद अफ्ताब आलमको आतंक कुन हदसम्म छ ? १२ वर्षपछि उनलाई जेल पठाउने न्यायाधीशको मनस्थितिले पनि यो बयान गर्छ । पुर्पक्षका लागि आलमलाई जेल पठाउने न्यायाधीश दीपक ढकालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्यायपरिषद्लाई आग्रह गरेका छन् । आदेश दिएलगत्तै शुक्रबार साँझ नै उनले जिल्ला छाडेका छन् । आलमविरुद्ध बहस गर्ने जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) फणीन्द्रराज कटवाल पनि सरुवाको माग गर्दै शुक्रबार नै रौतहटबाट हिँडेका छन् ।

Advertisement

अदालतमा बहस चल्दै गर्दा जाहेरवाला र साक्षीलाई धम्की दिने, बन्धक बनाउने र बयान फेर्न लगाउने आलमले न्यायाधिवक्ता र न्यायाधीशलाई समेत विभिन्न माध्यमबाट त्रासमा पारेका थिए । अदालत स्रोतका अनुसार असुरक्षित महसुस गरेर नै उनीहरूले जिल्ला छाडेका हुन् ।

जघन्य अपराध गरेर पनि १२ वर्षसम्म कहिले सांसद र कहिले मन्त्रीका रूपमा निस्फिक्री घुम्दै आएका आलमले पक्राउ हुने वेला प्रहरीलाई नै धम्क्याएका थिए । उनले सुरुमा पक्राउ पुर्जीसमेत लिन मानेका थिएनन् । तर, प्रहरीले जनकपुरबाट समेत थप फौज मगाएर आलमलाई पक्राउ गरेको थियो ।