January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

सात महिनापछि प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

सात महिनापछि प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समसामयिक राजनीतिका विषयमा छलफल गर्न’ भन्दै बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्री ओलीले मंगलबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बैठक बोलाएका थिए । यो बैंठक करीब सात महिनापछि लागेको हो । यसअघि नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको ३१ वैशाखमा सर्वदलीय बैठक बसेको थियो ।


यसपटक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको संकट चुलिएका बेला प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्न लागेका हुन् । समसामयिक विषयमा भनेर बोलाइएको छलफलको विषय खुलाइएको छैन । पार्टीभित्र आफू अल्पमतमा परेका बेला प्रधानमन्त्रीले सबै दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर प्रधानमन्त्री सम्बद्ध स्रोतका अनुसार देशमा राजाबादीको जनलहर बढदै जाँदा ओली त्यसबाट त्रसित भएर सर्वदलीय बैंठक डाकेका हुन् ।


आउँदो १८ पुसभित्र संसद अधिवेशन बोलाइसक्नुपर्ने संवैधानिक बाध्यता छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस मात्र होइन, सत्तारुढ नेकपाभित्रै समेत संसद अधिवेशन बोलाउनुपर्ने माग भइरहेको छ । विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको आन्तरिक समस्या अल्झिएको आरोप लगाउँदै आएका छन् । नेकपामा शक्ति संघर्ष चुलिएपछि अप्ठेरोमा परेका प्रधानमन्त्री ओलीले गत असारमा संसदको बर्खे अधिवेशन हठात् अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

Advertisement