March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

मुख्यमन्त्री राईसहित ८ सांसदलाई निलम्बन गर्ने प्रचण्ड–माधव समूहको निर्णय

मुख्यमन्त्री राईसहित ८ सांसदलाई निलम्बन गर्ने प्रचण्ड–माधव समूहको निर्णय

पुस २८, काठमाडौं ।
नेकपाको दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जना सांसदलाई निलम्बन गरेको छ । मुख्यमन्त्री राईसहित चारजना मन्त्री, प्रमुख सचेतक र तीन जना सांसदहरुलाई ३ महिनासम्म प्रदेशसभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको हो ।

Advertisement

आइतबार निलम्बन घोषणा गरिएकामा मुख्यमन्त्री राईसहित भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्की रहेका छन् ।

Advertisement

दाहाल–नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित निलम्बन पत्रमा उनीहरु पार्टी र सरकारको हितविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ । १२ पुसमा प्रचण्ड–माधव समूहका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । पुस १५ गते मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएर भीमप्रसाद आचार्यलाई दलको नेतामा चयन गरिएको थियो ।

पुस १९ गते बसेको संसदीय दलको बैठकले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई हटाएको थियो । दाहाल–नेपाल समूहले उनीहरुलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ । निलम्बन गरिएका आठैजनालाई हुलाक र कुरियरबाट निलम्बनको पत्र पठाइएको छ ।