September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पौडेल पक्षले सडक संघर्षलाई निरन्तरता दिन देउवालाई दवाव दिने

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पौडेल पक्षले सडक संघर्षलाई निरन्तरता दिन देउवालाई दवाव दिने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा विघटन विरुद्ध सडक आन्दोलन र विरोध कार्यक्रमलाई निरन्तरता दिन सभापति शेरबहादुर देउवामाथि दबाब बढ्उँने अनुमान गरिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्षलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेपछि देउवालाई दवाव पर्ने अनुमान गरिएको छ । हिजो पार्टी महामन्त्री शशांक कोइरालाको निवासमा बसेको समूहको बैठकले आज बस्ने केन्द्रीय समिति बैठकमा सडक संघर्षको निरन्तरलाई छलफलको एजेन्डा बनाउने निर्णय गरेको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले सडक आन्दोलन थालेपनि पुनःस्थापना शब्द उच्चारण गरेको छैन् । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई कांग्रेसले अलोकतान्त्रिक र असंवैधानिक भने पनि पुनःस्थापनाको माग उठाएको छैन । प्रधानमन्त्री ओलीप्रति नरम रहेर भित्रभित्रै चुनावमा जाने सभापति शेरबहादुर देउवाको लाइनमा वरिष्ठ नेता पौडेल पक्ष असन्तुष्ट छ ।

Advertisement

बैठकमा ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनबारे छलफल हुनेछ । पुस ७ गतेबाट सुरु केन्द्रीय समिति बैठकले विघटन लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल भएको निर्णय गरिसकेको छ ।
७ पुसमा सुरु भएको बैठकमा प्रतिनिधि सभा विघटनको विषयमा अहिलेसम्म नेता रामचन्द्र पौडेल, उपसभापति निधि पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्यहरू महेश आचार्य, डा.नारायण खड्का, एनपी साउद, डा.रामशरण महत, आनन्द ढुंगाना, बलबहादुर केसी, गगन थापा, अर्जुननरसिंह केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा. रिजाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई, र कल्पना चौधरी धारणा राखेका छन् । अझै तीन दर्जनबढी केन्द्रीय सदस्यले बोल्न नाम टिपाएकाले धेरै दिन चल्ने केन्द्रीय कार्यालयले जनाएको छ ।

Advertisement

बैठकमा पार्टीको १४ औं महाधिवेशनबारे पनि छलफल गर्ने एजेण्डा छ । आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने मिति निर्धारण गर्दै कार्यतालिका सार्वजनिक गरेको थियो । तर, कोभिड १९ महामारीका कारण कार्यतालिका अनुरुप काम हुन सकेको छैन ।

प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा के गर्ने भन्ने विषयमा पनि कांग्रेस अहिलेसम्म अनिर्णित छ । त्यो विषय पनि बैठकको एजेण्डा छ । त्यस्तै संगठन समायोजनमा देखिएको विवादबारे छलफल हुने छ । पार्टीको निर्वाचन समितिले बारा, सिन्धुपाल्चोक र सप्तरीको संगठन समायोजनमा विवाद देखिएपछि केही दिन अघि केन्द्रीय कार्यसमितिमा फिर्ता पठाएको थियो । ७४ जिल्लामा संगठन समायोजन मिलाएको निर्वाचन समितिलाई नै विवादित तीन जिल्लाको समायोजन मिलाउन पुनः फिर्ता पठाउने भित्री तयारी समेत भएको छ ।

कांग्रेसले अन्य पार्टीबाट आएकाहरूलाई पार्टी संगठनमा कसरी समायोजन गर्ने भन्नेबारेमा उपसभापति निधिको संयोजकत्वमा समिति बनाएको छ । केही समयअघि राप्रपाबाट कांग्रेस प्रवेश गरेको सुनिल थापा नेतृत्वको समूह, अखण्ड नेपाल पार्टी र नेकपाबाट प्रवेश गरेकालाई कसरी संगठनमा समायोजन गर्ने भन्नेबारेमा बैठकमा छलफल गर्ने तय भएको केन्द्रीय कार्यालयले जनाएको छ । समितिका तर्फबाट संयोजक निधिले प्रस्ताव केन्द्रीय समितिमा पेस गर्ने छ ।