May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

सरकारले संविधान मिच्दैन र मिच्न दिँदैन: प्रधानमन्त्री ओली

सरकारले संविधान मिच्दैन र मिच्न दिँदैन: प्रधानमन्त्री ओली

फागुन ७, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले संविधान नमिच्ने दाबी गरेका छन् । शुक्रबार ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतेृत्वको सरकारले संविधान नमिच्ने र मिच्न नदिने दाबी गरेका हुन् ।

‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले जनअनुमोदित प्रक्रियाको बाटोमा जाने र देशलाई अस्थिरताबाट जोगाउनको लागि आफूले नयाँ निर्वाचनको घोषणा गरेको बताए । साथै तोकिएकै मितिमा निर्वाचन हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै उनले अहिले अलमलिने बेला नभएको बताए ।

प्रधानमन्त्री ओलीले सानातिना मदभेदलाई बिर्सेर वृहत्तर राष्ट्रिय हित र स्वार्थमा एकताबद्ध भएर अगाडि बढ्न सबैमा आग्रह समेत गरे । अर्को वर्षसम्म अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा नेपाल रुपान्तरित हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले यसका लागि अझ प्रयास गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले हरेक नागरिकको चिन्तन र व्यवहारहरु राष्ट्रिय हित र जनताका हितमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

Advertisement