विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ता गर्न तयार
प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द समुह सरकारसँग वार्तामा बस्न तयार भएको छ । महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले विज्ञप्ती जारी गर्दै सरकारले उचित वातावरण बनाए वार्ताका लागि आफुहरु सकारात्मक बनेको विज्ञप्तिमा बताएका छन् । उनले आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको पनि बताएका छन् ।
‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लाग गरिएको सचेत पहल हो’, उनले विज्ञप्तिमा भनेका छन्, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’
सरकारले प्रतिवन्धित समुहसंग वार्ताको पहल गरेसंगै केही दिनअघि खानेपानी मन्त्री मणि थापाले चन्द समूहका नेता हेमन्त प्रकाश ओलीलाई नख्खु कारागारमा भेटे । हिंसात्मक र गैरकानुनी गतिविधि गरेको आरोपमा २ वर्षदेखि सरकारद्वारा चन्द समुहलाई प्रतिबन्धित समुहको रुपमा राखिएको थियो ।
प्रतिकृया दिनुहोस्