September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

प्रदेश १ को प्रदेशसभा बैठक आज, सभा अवरुद्ध गर्ने ओली पक्षको तयारी

प्रदेश १ को प्रदेशसभा बैठक आज, सभा अवरुद्ध गर्ने ओली पक्षको तयारी

फागुन ९, काठमाडौं ।
पटक–पटक अवरुद्ध हुँदै आएको प्रदेश १ को प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । सभामुख प्रदीप कुमार भण्डारीले दिउँसो २ बजेका लागि बैठक बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि गत माघ २५ गतेको बैठक सत्तापक्षकै सांसदले अवरोध गरेपछि आजसम्मका लागि स्थगित गरिएको थियो । आजको बैठक पनि नेकपा ओली समूहका सांसदले अवरोध गर्ने तयारी रहेको बुझिएको छ ।

नेकपाको प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । आजको बैठकमा राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची छ । तर, सत्तारुढ ओली समूहले आजको बैठक पनि अवरुद्ध गर्ने तयारी गरेका हुन् । शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई संसदीय दलबाट निलम्बन गरिएको निर्णय सभामुख भण्डारीले कार्यान्वयन नगरेसम्म संसद चल्न नदिने ओली समूहको अडान छ ।

Advertisement

ओली समूहका सांसदले पार्टी औपचारिक रुपमा विभाजित नभएसम्म बैठक चल्न नदिने अडान लिएका कारण आजको बैठक चल्ने संभावना पनि न्यून रहेको छ । यद्यपी बैठक चल्न सकेमा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।