September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

प्रदेश १ को संसद बैठकमा नजाने सरकारको निर्णय

प्रदेश १ को संसद बैठकमा नजाने सरकारको निर्णय

फागुन ९, काठमाडौं ।
प्रदेश नम्बर १ को सरकार संसद बैठकमा उपस्थित नहुने भएको छ । मुख्यमन्त्री शेरधन राई र सरकारका मन्त्री एवं केपी ओली निकट सांसदहरूले आज बस्ने भनिएको प्रदेश एकको प्रदेश सभा बैंठकमा उपस्थित नहुने निर्णय गरेका हुन् । आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेस गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ ।

Advertisement

मुख्यमन्त्री राईले बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए । तर, सभामुखले अस्वीकार गर्दै कार्यसूची प्रकाशन गरेका हुन् । मुख्यमन्त्री शेरधन राईले आफू निकट सांसदलाई बोलाएर अहिलेको परिवेशमा संसद चल्न नसक्ने निर्णय निकाल्दै बैठकमा नजाने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

Advertisement

सत्ता पक्षले आजको बैठकमा उपस्थित नहुनेबारे लिखित राय संसद सचिवालयमा दर्ता गराउने निर्णय समेत गरेको छ ।आज दुई बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक अझै सुरू भएको छैन। यसअघि माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो। सरकारी पक्षका सांसदको अवरोध भएपछि सभामुखले १४ दिन संसद् स्थगन गरेका थिए।

पुस १२ गते प्रदेशसभाका ३७ सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमाथि माघ २४ गतेको बैठकमा पनि छलफल गर्ने कार्यसूची थियो । तर नेकपा ओली समूहले अवरुद्ध गरेपछि दुई साताका लागि बैठक स्थगित भएको थियो ।