January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

“सरकारले जनतामा आशा जगाउने काम गरेको छ”- प्रधानमन्त्री ओली

“सरकारले जनतामा आशा जगाउने काम गरेको छ”- प्रधानमन्त्री ओली

नयाँ वर्ष २०७८ सुरु भएको दिन आज (बुधबार) बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन्। नयाँ वर्षको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भन्दै जनतालाई निराश बनाउने प्रयासहरु भए पनि सरकार त्यसबाट किञ्चित् विचलित नभएको बताएका हुन् । ‘जनतामा आशा जगाउने काम गरेका छौँ । सरकारका क्रियाकलापप्रति विश्वास दिलाउने काम गरेका छौँ,’ उनको भनाइ छ ।

Advertisement

प्रतिदिनमा पाँच किलोमिटरभन्दा बढी बाटो निर्माण गरिरहेको र एक दिनमा कम्तिमा १२ वटाको दरले आवास बनेको उनले बताए । सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरु गरेको स्मरण गर्दै उनले त्यो भत्ता दिनको एक सयमा पुगेको बताए । आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने उनले बताए ।

Advertisement

प्रम ओलीले दिनमा साढे पाँच किलोमिटर बाटो बनाएको दाबी गर्दै एक दिनमा कम्तिमा १२ वटा दरले आवासहरू पनि निर्माण गरेका बताए । उनका अनुसार सामाजिक सुरक्षा पाउने नागरिकको संख्या ३० लाख ६० हजार पुगेको छ । महिनाको एक सयबाट सुरु गरेको ‘सामाजिक सुरक्षा भत्ता आज दिनको एक सयमा सुरु भएको छ । आगामी बजेटबाट यसमा पनि बृद्धि हुन्छ,’ उनले भने । 

प्रधानमन्त्री ओलीले गरेको प्रारम्भिक सम्बोधन जस्ताको तस्तै :

कोभिड महामारी भए पनि राजनीतक संकट देखापरे पनि २०७७ उपलब्धिकै वर्ष रह्यो। दशकौंदेखिकाे सपना मेलम्चीको पानी ल्याएर खुसी बाँड्न सफल भएका छौं। २०७७ साललाई निरर्थक हुन दिएनौं। महामारीको कठिन घडीबीच पनि अनलाइनमार्फत शिक्षा सञ्चालन गर्‍यौं।

जनताको जीवन बचाउन सकियो भने उद्योग, स्कुल सबै कुरा पुनः सञ्चालन गर्न सकिन्छ। नागरिकको जीवन नै रहेन भने कुनै कुरा चल्न सक्दैन। उद्योग यदि केही समयका लागि बन्द भए भने नागरिक सुरक्षित रहे भने पुनः सञ्चालन गर्न सकिन्छ। मानिसको जीवन रहेन भने ती सञ्चालन गर्न सकिन्न।

त्यसअर्थ जीवनको सुरक्षालाई प्राथमिक महत्वमा राखेर कोभिडविरुद्धका गतिवविध सञ्चालन गर्‍यौं। हाम्रो सही नीतिकै कारण हामी असफल भएनौं। तुलनात्मक रुपमा जनजीवन सामान्य गर्न सक्यौं। ठूलो क्षति बेहोर्नुपरेन। आर्थिक वृद्धि दरमा केही प्रतिकूलता देखिए पनि ऋणात्मक अवस्तथामा जानुपरेन।

हामीले व्यापार घाटा कम गर्दै लाने दिशामा केही भए पनि कम गर्न सक्यौं। गएको वर्षलाई सफलताको वर्ष नै मान्नुपर्छ। अघिल्लो वर्ष हामीले पृथकतावाद अन्त्य गरेर राष्ट्रियता एकता कायम गर्न सफलता हासिल गरेका थियौं। यस वर्ष हिंसाको बाटो लिइरहेको समूह (विप्लव) लाई शान्तिपूर्ण मार्गमा ल्याउन सफल भयौं। अब देशमा हिंसाको राजनीति छैन। अर्थात् हिंसाका माध्यमबाट राजनीतिक उद्देश्य प्राप्ति गर्ने कुनै समूह छैन।