October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : निषेधाज्ञा थप कडा बनाइने, ५० प्रतिशत जोखिम भत्ता

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन :  निषेधाज्ञा थप कडा बनाइने, ५० प्रतिशत जोखिम भत्ता

वैशाख २०, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञा थप कडा पारिने बताएका छन् । आज दिउँसो बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै ओलीले विज्ञहरुको सुझावको आधारमा निषेधाज्ञा जारी भएको र थप कडा हुने बताएका हुन् । उनले कोभिड–१९ नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरेको बताए ।

उनले कोरोनाविरुद्धका लागि सबै शक्ति परिचालन गरिएको नेपाली सेनालाई हजार शय्याको अस्पताल निर्माण गर्ने जिम्मा दिएको, वीर अस्पतालको नयाँ भवनमा पाँच सय शय्याको कोभिड डेडिकेटेड अस्पताल बनाउन लागिएको बताएका छन् । गृहमन्त्रालयले दिएको जानकारी अनुसार ४१ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । प्रधानमन्त्री ओलीले महामारीमा खटिएका सुरक्षाकर्मी, चिकित्सक, सरसफाइकर्मी र चालकलाई ५० प्रतिशत जोखिम भत्ता दिइने जानकारी पनि दिए ।

यस्तै ओलीले सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गर्न लागि परेको बताए । नागरिकको पहुँचमा खोप पु¥याउन दातृ राष्ट्रबाट अनुदान लिनेका अतिरिक्त खरिद् प्रक्रिया सुरु गरिएको र कोही बञ्चित नहुने उनको भनाई रहेको छ । उनले नेपाल खोप लगाउनेमा दक्षिण एसियाको दोस्रो भएको बताए । उनले कोभिड संक्रमितलाई उपचारमा कुनै कमी नहोस् भनेर सरकारले पर्याप्त ध्यान पुर्‍याइएको बताए ।

Advertisement