April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

एमाले सांसदहरूलाई ओलीको आह्वानः हतारमा अप्रिय निर्णय नलिनुस्,आउनुस् सँगै बसेर छलफल गरौं

एमाले सांसदहरूलाई ओलीको आह्वानः हतारमा अप्रिय निर्णय नलिनुस्,आउनुस् सँगै बसेर छलफल गरौं

वैशाख २७, काठमाडौं ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सांसदहरूलाई हतारोमा कुनै पनि अनुचित निर्णय नलिन ध्यानाकर्षण गराएका छन् । सरकारलाई विश्वासको मतमाथि संसद्मा मतदान हुन केही घण्टा बाँकी छँदा एमालेका सांसदहरुलाई सम्बोधन गर्दै उनले छलफलको लागि आह्वान गरेका हुन् । ओलीले ट्वीटरमार्फत नेपाल पक्षलाई सम्बोधन गर्दै आन्तरिक मतभेद वा असन्तुष्टी केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन् ।

उनले लेखेका छन्, ‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दै छ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ ।’ आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने जनाउँदै उनले हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने जनाएका छन् । ‘म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं,’ ओलीले लेखेका छन् ।

Advertisement