September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

बूढानीलकण्ठ बैठकको निष्कर्ष, माधव नेपाललाई प्रधानमन्त्रीमा अगाडि सार्ने तयारी

बूढानीलकण्ठ बैठकको निष्कर्ष, माधव नेपाललाई  प्रधानमन्त्रीमा अगाडि सार्ने तयारी


नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहका साथै एमालेको माधव नेपाल समूहको बैठकले सरकारको बिहीबारको कदमका विषयमा उपयुक्त कदम चाल्ने निष्कर्ष निकालेको छ । तर, त्यो कदम बाहिर सार्वजनिक गरिएको छैन् ।

बैठकपछि बाहिरीदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपतिको हिजोको आह्वानका विषयमा छलफल केन्द्रीत हुने बताए । उनले कसरी अघि बढ्ने भन्नेबारे विभिन्न विकल्पमा छलफल भएको र अबको एक आधा घण्टामै उपयुक्त निर्णय लिइने प्रतिक्रिया दिए ।

Advertisement

यस्तै काँग्रेस नेता रामचन्द्र पौडेलले ३ बजे काँग्रेस संसदीय दलको कार्यालयमा सबै नेताहरु जम्मा भएर आवश्यक निर्णय लिने बैठकमा सहमति भएको बताए । बैठकले जसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि मनाउन अन्तिम चोटी प्रयत्न गर्ने निर्णय भएको उनले बताए ।


स्रोतका अनुसार सत्ता संघर्ष रोचक मोडमा पुग्दा नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्रीको मुख्य दाबेदार बनेका छन् । ओलीवरोधी गठबन्धनले नेपाललाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने बुझिएको छ । स्रोतका अनुसार अन्तिम पटक महन्थ ठाकुरालाई आफ्नो पक्षमा ल्याउने त्यो भनए नेपाललाई समर्थन गर्ने बुझिएको छ ।

यथास्थितिमा नेपाल समूहमा २० प्रत्यक्ष र ८ समानुपातिक गरी २८ जना खुलेका छन् । यसअघि नेपाल समूह छाडेका सांसदहरु पनि उनीसँग सम्पर्कमा रहेको र ४० भन्दा बढीले साथ दिने वचन दिइसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ । अहिले माधव नेपाल समूहले हस्ताक्षर संकलन गरिरहेको छ । आफ्नो समूहमा ४० भन्दा बढी सांसद संख्या पुगेमा नेपाल समूहले सांसदबाट राजीनामा दिने नभई गठबन्धनको प्रधानमन्त्रीकै दाबी गर्ने भएको छ ।

प्रतिनिधिसभामा २७५ सदस्य संख्यामध्ये ४ निलम्बित र ४ सिट खाली छ । कुल २६७ मा काँग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपाको उपेन्द्र यादव समूहका १६ गरी १२६ सदस्य संख्या पुग्छ । माधव नेपाल समूहले ४० सांसद पुर्याउन सके १६६ सदस्य संख्या पुग्छ । अन्य दलका सांसदलाई समेत साथ लिएर अगाडि बढ्ने रणनीतिका साथ ओलीविरोधी गठबन्धन आक्रामक रुपमा लागेको छ ।