December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

वैकल्पिक सरकार दिन सक्नुहुन्न भने मलाई समर्थन गर्नुस्ः प्रधानमन्त्री ओली

वैकल्पिक सरकार दिन सक्नुहुन्न भने मलाई समर्थन गर्नुस्ः प्रधानमन्त्री ओली

जेठ ७, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार दिन नसके आफूलाई समर्थन गर्न आग्रह गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले दलहरुलाई वैकल्पिक सरकार दिन नसके आफूलाई समर्थन गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले वैकल्पिक सरकार बनेमा आफूले स्वागत गर्ने समेत बताएका छन् । ‘म फेरि पनि आग्रह गर्छु तपाईंहरु वैकल्पिक सरकार बनाउनुस् । बिना कुनै षड्यन्त्र म दलका नेताहरुलाई आग्रह गर्छु बनाउनुस् वैकल्पिक सरकार । म त्यसलाई स्वागत गर्नेछु । त्यसमा मेरो रचनात्मक सहयोग हुनेछ । सहयोगी भावनाका साथ कोरोना महामारी तथा अन्य कुरामा मेरो दल प्रस्तुत हुनेछ,’ उनले भने । उनले कोभिड–१९ विरुद्ध लड्न सबै दल मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन सक्ने भए पनि आफू तयार रहेको बताए ।

Advertisement

प्रधानमन्त्री ओलीले सरकार ढाल्न राष्ट्रिय राजनीतिमा फोहोरी खेल भएको बताए । उनले आफूलाई संसदमा विश्वासको मत नदिनका लागि राष्ट्रिय राजनीतिमा फोहोरी चक्रब्यूह बनाइएको बताए । ‘महाभारतकालीन चक्रब्यूहमा नीति, विधि तोडेर, युद्धका नियम तोडेर, आचारसंहिता तोडेर, मर्यादा तोडेर, इमान–जमान छोडेर अभिमन्युको हत्या भएको थियो,’ उनले भने, ‘अहिले विश्वासको मत नपुगोस् भनेर दलहरूभित्रै विग्रह । दलभित्रैबाट समेत २७–२७ मान्छे गुटगत ढंगले अनुशासनहीन भएर अनुपस्थित भए । दलभित्रैबाट विपक्षीसँग मिल्ने खेल भयो ।

विपक्षीसँग मिलेर सरकार ढाल्न खोज्नुलाई लोकतन्त्रमा के भनिन्छ ? यस्ता प्रयास कुनै पनि हिसाबले नैतिक हुन सक्छन् ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ‘मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् । त्यसै अनुरोधबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान पनि गरेकी छिन् ।

प्रधानमन्त्री ओलीलाई जसपाको ठाकुर–महतो समूह सघाउने पक्षमा रहेको छ । तर प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव समूहले भने विरोध गरेको छ ।