सत्ता गठबन्धनको बैठक सकिने वित्तिकै मन्त्रीपरिषद्को आकस्मिक बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आकस्मिक बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ । उक्त बैठक सकिनेबित्तिकै बालुवाटारमै मन्त्रिपरिषद्को बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप तथा यसका पदाधिकारीहरुबारे निर्णय लिनेछ । दुवै आयोग र आयोगका पदाधिकारीको कार्यकाल असार मसान्तमा सकिँदैछ ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल जारी रहेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का लगायत सहभागी रहेका जनाइएको छ ।
गठबन्धनको घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भारत भ्रमणका विषयमा पनि छलफल भइरहेको जनाइएको छ । प्रचण्डले आफूले आज (शुक्रबार)देखि गर्न लागेको भारत भ्रमणबारे गठबन्धन बैठकमा जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्