तीन अध्यक्ष हुने गरी राप्रपाको एकीकरण
फागुन २५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकता भएको छ । लामो छलफल र संवादपछि राप्रपा र राप्रपा (संयुक्त) बीच एकता गर्ने सहमति भएको हो । एकीकरणसम्बन्धी आधारपत्रमा कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले शनिबार बेलुकी हस्ताक्षर गरेका छन् । घोषणासभा फागुन २८ लाई तय गरिएको छ । सहमति अनुसार एकीकृत पार्टीमा राप्रपा (संयुक्त)का अध्यक्षद्वय राणा तथा लोहनी र राप्रपाका थापा अध्यक्ष रहनेछन् । केन्द्रीय समितिमा मनोनयन, सचिवालय निर्माण, जिम्मेवारी बाँडफाँडलगायत दैनिक कार्य सञ्चालन तीनजना अध्यक्षहरुको सहमतिमा गरिनेछ । संविधानमा रहेका असहमतिलाई कायम राख्दै एकीकृत राप्रपाले राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र अंगीकार गर्ने निर्णय गरेको छ । त्यसैगरी शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिसमेत अवलम्बन गर्ने सहमति भएको छ । दुवै दलको विधानलाई सामन्जस्य गरी एकीकृत विधान बनाउने सहमति दुई राप्रपाबीच भएको छ । एकीकरणसम्बन्धी आधारपत्रका प्रावधान अन्तरिम विधानसँग बाझिएमा आधारपत्रका संझौतालाई मान्यता दिइनेछ । विधान सञ्चालनमा कुनै बाधा पर्न गएमा तीनजना अध्यक्षको सहमतिमा बाधा अड्काउ फुकाउ गरिनेछ । हालका लागि भने राप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ । ६ महिनाभित्र विधान कमिटीले विधान प्रस्ताव गर्नेछ । सहमति अनुसार डेढ वर्ष्िभत्र एकीकृत पार्टीको महाधिवेशन गरिने छ । यस्तै, हाल कायम रहेका दुवैै दलका निर्वाचन चिह्न ६ महिनाका लागि स्थगन गरिएको छ । झण्डाको हकमा हाल प्रयोग भएको राप्रपाको झण्डा प्रयोग गरिनेछ । पार्टी एकताको आधारपत्र र कार्य्विधि निर्धारण गर्न राप्रपा (संयुक्त)बाट विक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना र राप्रपाका तर्फबाट दीपक बोहोरा, बुद्धिमान तामाङ र भास्कर भद्रा रहेको कार्यदल समेत गठन गरिएको छ ।
प्रतिकृया दिनुहोस्