कांग्रेस अनुशासन समितिका सदस्य चौधरीले दिए राजीनामा
फागुन २९ , काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले पार्टीको केन्द्रीय अनुशासन समितिबाट राजीनामा दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका चौधरीले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, डडेलधुरा सभापति कर्ण मल्ल, कैलालीका नेता पुष्करनाथ ओझामाथिको कारबाहीको सिफारिसमा असन्तुष्टि जनाउँदै अनुशासन समितिबाट राजीनामा दिएका हुन् ।
केन्द्रीय सदस्य चौधरी नेता सिटौला निकट मानिन्छन् । चौधरी सिटौला समूहबाट अनुशासन समिति सदस्यमा मनोनित भएका थिए । राजीनामाका बारेमा उनले सार्वजनिक रूपमा केही नबताए पनि उनी निकट स्रोतले राजीनामा नेता सिटौलालाई बुझाइएको पुष्टि गरेको छ । सिटौलामार्फत नै चौधरीले सभापति देउवालाई राजीनामा पठाएको खुलेको छ ।
स्रोतका अनुसार नेता चौधरीले होली पर्वअघि नै सिटौलालाई राजीनामा पत्र बुझाएका हुन् ।
यद्यपि, नेता सिटौलाको सचिवालयले भने चौधरीको राजीनामा पत्रका बारेमा पुष्टि गरेको छैन ।
अनुशासन समितिमा पौडेलको तर्फबाट धनराज गुरुङ, देउवाको तर्फबाट संयोजक भीष्मराज आङदेम्बे र सदस्यमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर रहेका छन् ।
प्रतिकृया दिनुहोस्