लगानीकर्तामा आत्मविश्वास बढ्दा नेप्सेमा भारी बृद्धि
काठमाडौं, २७ पुस ।
साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक वृद्धि भएसँग कारोबार रकममा पनि वृद्धि भएको छ । बैंकको घट्दो ब्याजदरको प्रभाव सेयर बजारमा परेको बताउछन् । त्यस्तै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएको, साना तथा ठूला लगानीकर्ता सक्रिय भएको र लगानीकर्तामा बजार बढ्छ भन्ने आत्मविश्वास बढ्दै गएकाले शेयरबजारमा उल्लेख्य सुधार आएको हो । सन् २०२० को शुरुआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक ‘बुलिस ट्रेण्ड’ पछ्याउँदै करिब ४३ अङ्कले वृद्धि भएको छ । प्रतिशतका आधारमा आजको वृद्धि ३.५१ हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४२.६१ विन्दुले बढेर एक हजार २५५.७२ मा पुगेर रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूकसमेत ८.४७ विन्दुले बढेर २७२.७३ मा पुगेको छ । बीमा समूहले ‘बुलिस ट्रेण्ड’ पछ्याउँदा कारोबार रकममा समेत उच्च अङ्कले वृद्धि भएको छ । आज एक अर्व ३३ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।
आज कारोबारमा आएका १२ वटै समूहको परिसूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी पसिसूचक वृद्धि हुनेमा निर्जीवन बीमा समूह, जीवन बीमा समूह र माइक्रोफाइनान्स समूह रहेका छन् । निर्जीवन बीमा समूहको ८.१७ प्रतिशत, जीवन बीमा समूहको ६.८६ प्रतिशत र माइक्रोफाइनान्स समूहको ६.५५ प्रतिशत परिसूचकमा वृद्धि भएको हो ।
कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा देखिएको छ । सो कम्पनीको रु पाँच करोड ८८ लाख १९ हजार बराबरको कारोबार भयो । गरिमा विकास लघुवित्त वित्तीय संस्थाको रु चार करोड ६३ लाख ५६ हजार ५०४, एनआएसी एशियाको रु चार करोड सात लाख ८१ हजार ११०, शिवम् सिमेन्टको रु तीन करोड ९८ लाख २४ हजार १४९, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु तीन करोड ७६ लाख २७ हजार २९१, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको रु तीन करोड ७४ लाख पाँच हजार २५७, नेपाल बैंक लिमिटेडको रु तीन करोड तीन लाख ५३ हजार ४८९ र प्रभु बैंकको रु दुई करोड ९१ लाख ३८ हजार १२५ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।
प्रतिकृया दिनुहोस्