चालु आवको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण
बैंशाख, १७ काठमाण्डौ ।
चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वर्ष २०७६÷७७ मा देशको अर्थतन्त्रको विस्तार न्यून हुने आकलन गरेको हो ।
कोरोना भाइरस र प्रमुख बाली धानको उत्पादनमा आएको कमीले गर्दा वृद्धिदर खुम्चिएकाले जम्मा २ दशमलव २७ प्रतिशतको वृद्धिदर मात्रै हुने अनुमान विभागले गरेको हो । गत आर्थिक वर्षमा ६.७५ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको थियो । कोरोनाभाइरसले सिर्जना गरेको परिस्थितिका कारण अर्थतन्त्रमा ठूलो धक्का पुगेको विभागको तथ्यांकले देखाएको छ । बन्दाबन्दीका कारण सबैभन्दा धेरै होटल तथा रेस्टुँरा, यातायातजस्ता क्षेत्रमा गहिरो असर परेको छ ।

कुल गार्हस्थ उत्पादनमा समग्र औद्योगिक क्षेत्र अर्थात प्राथमिक क्षेत्रको योगदान थोरै मात्र बढ्ने देखिएको छ । कृषि मत्स्य, वनउत्खननलगायत समावेश हुने प्राथमिक क्षेत्रको योगदान २८ दशमलव २ प्रतिशत मात्रै रहने अनुमान छ । यो वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी)मा द्वितीय क्षेत्रको योगदान १३ दशमलव ७२ प्रतिशत रहने अनुमान छ । अघिल्लो वर्ष यो क्षेत्रको योगदान १४ प्रतिशतभन्दा माथि थियो । यस्तै सेवा क्षेत्रको योगदान ५७ दशमलव ८ प्रतिशत रहने अनुमान छ । यो वर्ष होटल तथा रेष्टुरेन्ट क्षेत्रको योगदान जम्मा १ दशमलव ४१ प्रतिशतमा झर्ने देखिएको छ । अघिल्लो वर्ष होटल तथा रेष्टुरेन्ट क्षेत्रको योगदान १७ प्रतिशतभन्दा धेरै थियो ।
चालु आर्थिक वर्षमा प्रमुख आर्थिक सूचकहरुको अवस्था :
- प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ लाख २६ हजार १८ रुपैयाँ अर्थात १ हजार ८५ डलर
- चालु मूल्यअनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्या १७ खर्ब ४३ अर्ब
- चालु मूल्यअनुसार कुल जीडीपी आधारभूत मूल्यमा ३२ खर्ब ९ अर्ब
- चालु मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ३७ खर्ब ६७ अर्ब
- चालु मूल्यअनुसार कुल स्थिर पुँजी निर्माण १० खर्ब ६० अर्ब
- चालु मूल्यमा वस्तु तथा सेवाको खुद निर्यात १२ खर्ब ७ अर्ब ऋणात्मक
- विप्रेषण ७ खर्ब १६ अर्ब (कुल गार्हस्थ उत्पादनको १९.०१ प्रतिशत)
- स्थिर मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन बृद्धिदर आधारभूत मूल्यमा २.२७ प्रतिशत,
- चालु मूल्यअनुसार कुल उत्पादन आधारभूत मूल्यमा ५० खर्ब ९२ अर्ब
- चालु मूल्यमा अन्तिम उपभोग खर्च ३० खर्ब ८५ अर्ब (कुल गार्हस्थ्य उत्पादनको ८१.१० प्रतिशत)
प्रतिकृया दिनुहोस्