May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

विदेशीले नेपालमा भन्दा नेपालीले विदेशमा गरेको खर्च बढी, रेमिट्यान्समा पनि कमी

विदेशीले नेपालमा भन्दा नेपालीले विदेशमा गरेको खर्च बढी, रेमिट्यान्समा पनि कमी

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विदेशीले नेपालमा गर्ने खर्च बढेको देखाएकोछ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्ने क्रममा खर्च बढाएको देखाएको हो । कोरोना भाइरसको कारण माघको अन्तिमदेखि पर्यटक आवागमनमा कमी आएपनि नौ महिनासम्मको तथ्याङ्कले पर्यटकमार्फत हुने खर्च बढेको देखाएको हो । पछिल्लो आकडाले भ्रमण आय नौ महिनामा शून्य ६ प्रतिशतले बढेर ५५ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो नौ महिनामा यस्तो आय ५५ अर्ब ४३ करोड रहेको थियो । यस्तै सेवा खाता अन्तर्गत भ्रमण व्यय २६ दशमलव ४ प्रतिशतले घटेको छ । नौ महिनामा नेपालीले ५० अर्ब २२ करोड रुपैयाँ विदेश भ्रमणमा खर्च गरेका छन् । यसमध्ये शिक्षातर्फको खर्च २४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको नौ महिनामा नेपालीले विदेशमा भ्रमण गर्दा ६८ अर्ब २६ करोड खर्च गरेका थिए । यसमध्ये शिक्षातर्फको खर्च ३५ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।

त्यसैगरी, कोरोना भाइरसको संक्रमणले विप्रेषण आप्रवाहमा गम्भीर धक्का पुग्ने देखिएको छ । नेपालीहरु कार्यरत विभिन्न मुलुकहरुमा समेत कोरोनाको प्रकोप फैलिएका कारण नेपाल भित्रिने विप्रेषणमा उल्लेख्य मात्रमा घट्ने देखाएको छ । चालु आबको ९ महिना अर्थात चैत मसान्तसम्म विप्रेषण आप्रवाह ४ प्रतिशतले घटेको छ । चालु आबको आठ महिनासम्ममा पनि विप्रेषण आप्रवाह १.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा ४ प्रतिशतले कमी आई ६२६ अर्ब ९० करोड कायम भएको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.९ प्रतिशतले बढेकोमा यो बर्ष कोरोनाका कारण घट्ने भएको हो ।

Advertisement