May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

बैंकहरूले अधिकतम ३० प्रतिशत मात्र नगद लाभांश दिन पाउने गरी राष्ट्र बैंकले जारी गर्याे नयाँ कार्यविधि

बैंकहरूले अधिकतम ३० प्रतिशत मात्र नगद लाभांश दिन पाउने गरी  राष्ट्र बैंकले जारी गर्याे नयाँ कार्यविधि

असोज २१, काठमाडौं ।
आर्थिक वर्ष २०७६÷७७ का लागि इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्ममात्र नगद लाभांश वितरण गर्न पाउने भएका छन् । राष्ट्र बैंकले मंगलवार बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि २०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

Advertisement

केन्द्रीय बैंकले २०७२ सालको कार्यविधिलाई मंगलबार संशोधन गरेको हो । उक्त कार्यविधिमा संशोधन भएका वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि खारेज गरेर नयाँ व्यवस्था गरेको राष्ट्र बैंकले बताएको छ । संशोधित कार्यविधिअनुसार नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७७ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा कम हुनुपर्ने छ । साथै खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशत भन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले करप्रयोजनका लागिबाहेक नगद लाभांशवितरण गर्र्न नपाउने व्यावस्था कार्यविधिमा उल्लेख गरिएको छ ।

Advertisement

त्यस्तै यस वर्षको मुनाफामा यस वर्षभन्दा अघिको वर्षबाट सञ्चित रहेको वितरणयोग्य मुनाफालाई जोडेर कुल वितरणयोग्य मुनाफा गणना गर्न बाधा नपर्ने केन्द्रीय बैंकले स्पष्ट पारेको छ । राष्ट बैंकले मंगलबार जारी गरेको कार्यविधिमा बैंक तथा वित्तीय संस्थाहरूले नगद लाभांश तथा बोनस शेयर वितरण गर्दा पालना गर्नुपर्ने नियमहरु उल्लेख गरेको छ । यसअन्तर्गत वार्षिक साधारण सभाको स्वीकृति लिने मिति सम्मको अवधिमा शीघ्र सुधारात्मक कारबाही कार्यान्वयन भई सो अवधिसम्ममा त्यस्तो कारबाही फुकुवा नभएको अवस्थामा नगद लाभांश तथा बोनस सेयर वितरण गर्न राष्ट्र बैंकले स्वीकृति नदिने भएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाले अन्य संस्थामा गरेको संस्थापक शेयर लगानी (क्रश होल्डिङ) विक्री नगरेसम्म त्यस्तो संस्थाले पाउने नगद लाभांश तथा बोनस शेयर दिन पनि केन्द्रीय बैंकले रोक्ने भएको छ । साथै, बचत तथा ऋणको कारोबार गरिरहेका संस्थाहरूले बैंकहरूको संस्थापक शेयरमा गरेको लगानी विक्री नगरेसम्म त्यस्तो संस्थाले पाउने नगद लाभांश तथा बोनस शेयर वितरण गर्न रोक्का गर्ने पनि कार्यविधिमा उल्लेख छ । बैंक वा वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको मितिले ५ वर्ष पुगेपछि र सर्वसाधारणमा सेयर जारी गरेपछि चुक्ता पुँजीको २ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने संस्थापकले आफ्नो नाममा रहेको सेयर धितोबन्धक राखी कर्जा लिँदा राष्ट्र बैंकको स्वीकृति नलिएको अवस्थामा त्यस्तो सेयरधनीलाई कर्जा चुक्ता नभएसम्म बैंक तथा वित्तीय संस्थाले वितरण गर्ने नगद लाभांश वा बोनस सेयर रोक्का राख्ने कार्यविधिमा उल्लेख छ ।

राष्ट्र बैंकले तोकेबमोजिम मासिक रूपमा औसत ब्याजदर अन्तर कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई सो आर्थिक वर्षको बोनस सेयरको कर प्रयोजनबाहेकको नगद लाभांश घोषणा तथा वितरण गर्न रोक लाग्ने जनाइएको छ । आर्थिक वर्ष समाप्त भएको मितिदेखि वार्षिक साधारणसभाको स्वीकृति लिने मितिसम्मको अवधिमा शीघ्र सुधारात्मक कारबाही कार्यान्वयन भई उक्त अवधिसम्ममा त्यस्तो कारबाही फुकुवा नभएको अवस्थामा नगद लाभांश तथा बोनस शेयर घोषणा गर्न वा वितरण गर्न स्वीकृति नदिने बताएको छ ।

राष्ट्र बैंकले वित्तीय प्रणालीमा जोखिमको मात्रा बढ्दै गई भविष्यमा बैंक तथा वित्तीय संस्थाहरूले नोक्सानी बेहोर्नुपर्ने सम्भावना रहने, कतिपय बैंक तथा वित्तीय संस्थाको जोखिम मूल्यांकन एवम् जोखिम न्यूनीकरण, आन्तरिक नियन्त्रण प्रणाली एवम् संस्थागत सुशासनको अवस्था सुदृढ भई नसकेकाले यस्तो व्यवस्था गरेको बताएको छ ।

इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्दा चुक्ता पूँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थामा चुक्ता पूँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था पालना नभएको भए प्रस्तावित नगद लाभांश तथा बोनस शेयर वितरण रोक्का राख्न लगाउने भएको छ ।