May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

बंगलादेशबाट सापटी लिन लागेको ५० हजार मेट्रिक टन युरिया ल्याउन अझै २ महिना लाग्ने

बंगलादेशबाट सापटी लिन लागेको  ५० हजार मेट्रिक टन युरिया ल्याउन अझै २ महिना लाग्ने

आसोज २२, काठमाडौं ।
सरकारले रासायनिक मलको आपूर्ति बढाउन बंगलादेशबाट सापटी लिन लागेको ५० हजार मेट्रिक टन युरिया ल्याउन अझै दुइ महिना भन्दा बढी समय लाग्ने भएको छ । मल ढुवानी गर्न असोज ५ गते कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का आह्वान गरेको थियो ।

Advertisement

कम्पनीका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलका अनुसार बंगलादेशबाट करीब ७० दिनभित्र सबै मल नेपाल आइपुग्ने भएको छ । सार्वजनिक खरीद ऐनअनुसार प्रक्रिया पूरा गर्नुपर्दा मल ढुवानीमा लामो समय लाग्ने देखिएको हो ।

Advertisement

धानका लागि युरिया मलको अभाव भएपछि सरकारले बंगलादेश सरकारसँग ५० हजार टन युरिया मल सापटीमा दिन आग्रह गरेको थियो । सोही आग्रह वमोजिम बंगलादेशी सरकारले सापटीको रुपमा मल दिन सहमति जनाएको हो । बंगलादेश सरकारले चटगाव बन्दरगाहमा मल उपलब्ध गराएपछि ठेकेदार कम्पनीले ढुवानी थाल्नेछ ।

उक्त बन्दरगाहमा मल उपलब्ध गराएको २० दिनभित्र पहिलो लट नेपाल आइपुग्ने बताइएको छ । तर, हालसम्म बंगलादेश सरकारले सो बन्दरगाहमा मल उपलब्ध गराएको छैन । कृषि मन्त्रालयका अनुसार बंगलादेश सरकारले आफूलाई आवश्यक पर्ने करीब १० लाख मेट्रिकटन मल मौज्दात गरेको छ । उक्त मौज्दातबाट उसले नेपाललाई मल उपलब्ध गराउनेछ ।

बंगलादेशबाट भारतको कलकत्ता र कलकत्ताबाट रेलमा वीरगञ्जसम्म ल्याइने छ । सापटी ल्याइएको उक्त मल नेपाल सरकारले बंगलादेशबाट मल ल्याएको आठ महिनाभित्र फिर्ता गर्नुपर्ने बताइएको छ ।