May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

विश्व बैंकको आँकलन : नेपालको आर्थिक बृद्धि ०.६ प्रतिशत, गरिवी झन् चर्कने

विश्व बैंकको आँकलन : नेपालको आर्थिक बृद्धि ०.६ प्रतिशत, गरिवी झन् चर्कने

असोज २२, काठमाडौं ।
विश्व बैंकले दक्षिण एसियास्तरीय अर्धवार्षिक आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । विश्व बैंकले विहीबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदन अनुसार कोरोना महामारीकासन् २०२० मा ०.२ प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि २०२१ मा शुन्य दशमलव ०.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

Advertisement

उक्त प्रतिवेदन अनुसार कोरोना महामारीको असर कायमै रहेको कारण दक्षिण एसिया अहिलेसम्मकै सुक्ष्म मन्दीमा डुबेको छ । सबै भन्दा बढी अनौपचारिक क्षेत्रमा कार्यरत लाखौंले रोजगारी गुमाएका छन्, जसको कारण लाखौं दक्षिण एसियालीहरु चरम गरिबीमा धकेलिँदै गएका छन् । पछिल्ला ५ वर्षमा लगातार ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एसियाको अर्थतन्त्रको वृद्धिदर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आँकलन गरिएको छ । त्यस्तै २०२१ मा क्षेत्रीय वृद्धि ४.५ प्रतिशत रहने विश्व बैंकको पूर्वानुमान छ ।

Advertisement

जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रति व्यक्ति आय सन् २०१९ मा अनुमान गरिए भन्दा ६ प्रतिशतले कम रहनेछ । अबको समयमा हासिल गरिने आर्थिक वृद्धिले पनि विद्यमान महामारीको स्थायी आर्थिक क्षतिलाई परिपुर्ति गर्नेछैन भन्ने यसले संकेत गर्दछ । अघिल्ला मन्दीहरूमा खस्कदो लगानी र निर्यातले गिरावट ल्याउने गरेका थिए । तर यसपालिको अर्थिक मन्दी फरक छ किनभने निजी उपभोग, जुन परम्परागत रूपमा दक्षिण एशियामा मागको मेरुदण्ड र आर्थिक कल्याणको मुख्य सूचक हो, १० प्रतिशतले घट्ने छ जसका कारण गरिबीको दर बढ्ने छ । विप्रेषणमा आएको गिरावटले पनि अति विपन्नहरूले तिब्र गतिमा आय श्रोत गुमाउने अपेक्षा केही देशहरूमा गरिएको छ ।

“नेपालमा कोरोनाको असर अनौपचारिक कामदार वा सामाजिक सुरक्षा र सहायतामा नसमेटिएका मानिसहरूलाई सबैभन्दा बढी पर्ने र उनीहरू चरम गरिबीमा धकेलिने सम्भावना छ,” माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक श्री फारिस हदाद जर्भोसले भने । उनका अनुसार अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरुलाई आय, सामाजिक सुरक्षा, र रोजगारी सहित सहयोग गर्नका लागि शिध्र कार्यक्रम ल्याउनु आवश्यक छ ।

नेपालमा अनौपचारिक व्यवसायहरूमा करिब ५० प्रतिशत उद्यमहरू पर्छन् र यी उद्यमहरू अधिकांश श्रमजीविहरूको कमाईको मुख्य स्रोत हुन् । यस समूहमध्ये, शहरी अनौपचारिक क्षेत्रका कामदारहरू र शहरी क्षेत्रका स्वरोजगार परिवारहरू सबैभन्दा बढी जोखिममा छन्।

विश्व बैंकका अनुसार अबको समयमा हासिल गरिने आर्थिक वृद्धिले पनि विद्यमान महामारीको स्थायी आर्थिक क्षतिलाई परिपूर्ति सकिने छैन । यस प्रतिवेदनले सरकारलाई सर्वव्यापी सामाजिक सुरक्षाका साथै अझ बढी उत्पादकता, सीप विकास र मानव पूँजीलाई टेवा पुर्याउने नीतिहरूको विकास गर्न आग्रह गरेको छ ।