सिंहदरवारमै छैंन् सार्वजनिक शौचालय
०३ मंसिर २०७६ काठमाडौं
‘शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस’ भन्ने नाराका साथ साताँै शौचालय दिवस आज मनाइँदैछ । दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी निकालिएको छ । स्वच्छ खानेपानी र सरसफाइ संविधानको मौलिक अधिकार भित्र रहेको छ । तर संविधान प्रदत्त अधिकार कार्यान्वयनमा चुनौती रहेको छ ।
मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबारभित्र एउटा पनि सार्वजानिक शौचालय छैन् । काठमाडौँ उपत्यकामा दैनिक हजारौँ मानिस आउजाउ गर्ने अति व्यस्त ठाउँमा सार्वजनिक शौचालय छैनन् । सार्वजनिक शौचालय नहुँदा बटुवाहरू बडो सकसमा पर्छन् । यस्ता ठाउँमा दिसा–पिसाबले च्यापेकाहरू नजिकैका होटल, खाजाघर छिरेर भोक नलागे पनि खानेकुरा खान बाध्य भई शौचालय प्रयोग गर्दछन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार शहरी क्षेत्रमा ३०० मिटरको अन्तरालमा सार्वजानिक शौचालय हुनुपर्ने प्रावधान रहेको छ । नेपालका अधिकांश शहरी क्षेत्रमा सो प्रावधानको कार्यान्वयन त परै जावोस् सार्वजानिक शौचालय पनि सीमितरुपमा मात्र छन् ।
खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार ९० प्रतिशत जनसख्यामा शौचालयको पहुँच रहेको छ । काठमाडौँ महानगरपालिकाको एक अध्ययनअनुसार महानगरमा सरदर २० हजार २८८ जनाको लागि एउटा सार्वजनिक शौचालय उपलब्ध छ । ३२ वडा रहेको महानगरका १६ वडामा त सार्वजनिक शौचालय नै छैनन् ।
हाल महानगरभित्र ५८ वटा मात्र सार्वजानिक शौचालय छन् । तीमध्ये पनि ४९ मात्र चालू अवस्थामा छन् । प्रयोगमा रहेका मध्ये १५ वटा शौचालयमा पानी उपलब्ध छैन । कतिपय शौचालयको फोहोरको निकास सोझै ढलमा मिसाइएको छ ।
उपत्यका भित्रका ११५ सार्वजनिक शौचालयको अध्ययन गर्दा ७५ प्रतिशत शौचालयको संरचना खराब रहेका थिए । काठमाडौँ महानगरपालिकाले रत्नपार्क वरिपरि रहेका सार्वजनिक शौचालयबाट मात्र वार्षिक रु १५ देखि रु ६० लाखसम्म बहालकर उठाउँदै आएको छ ।
प्रतिकृया दिनुहोस्