September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

चौधरी समुह शंकको घेरामा, नबिल बैंकबाट लाभांश दिन नेपाल राष्ट्र बैंकले लगायो रोक

चौधरी समुह शंकको घेरामा, नबिल बैंकबाट लाभांश दिन नेपाल राष्ट्र बैंकले लगायो रोक

अर्बपति व्यवसायी विनोद चौधरीको ‘विवादास्पद लगानी’ रहेको आइरिस कम्पनी एनबी इन्टरनेशनललाई नबिल (नेपाल अरब बैंक लिमिटेड) बैंकबाट लाभांश दिन नेपाल राष्ट्र बैंकले रोक लगाएको छ । कम्पनीको लाभदायिक स्वामित्व नखुलेकाले लाभांश प्रस्ताव रोकिएको हो ।


सन् १९९५ मा आयरल्याण्डमा स्थापना भएको एनबी इन्टरनेशलको नबिल बैंकमा ५० प्रतिशत लगानी रहेको छ । तर, कम्पनीको विवादास्पद पृष्ठभूमिका कारण राष्ट्र बैंकले पटकपटक नबिल बैंक तथा चौधरीमाथि छानबिन गर्दै आएको छ । गभर्नर कार्यालयका निर्देशक नारायणप्रसाद पोखरेलले एनबीको लाभदायिक स्वामित्व नखुलेकाले लाभांश प्रस्ताव रोकिएको जानकारी दिए । वार्षिक साधारणसभाको स्वीकृतिको लागि आवेदन दिएको नबिल बैंकले एनबीको लाभदायिक स्वामित्व खुल्ने कागज उपलब्ध गराएको थिएन ।

Advertisement


नबिल बैंकको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । बैंकले ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको उक्त निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत र साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने प्रावधान छ । बैंकले वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा धेरै लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश वितरण गर्दा बैंकले कुल ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको लाभांश दिने जनाइएको छ ।


यसपछि बैंकको चुक्ता पुँजी साढे १३ अर्ब रुपैया पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ । ‘राष्ट्र बैंकले नबिल बैंकको विदेशी साझेदार कम्पनी एनबी इन्टरनेशनलाई लाभांश वितरणमा रोक लगाएको हो,’ पोखरेलले भने, ‘कम्पनीसम्बन्धी कागजात हामीले मागेपछि नबिलले बुझाएको छ, त्यसको अध्ययन गर्दै छौं ।’ अध्ययन सकिएर निर्णय नभएसम्मका लागि नबिलको लाभांश रोक्का गरिने उनले जानकारी दिए ।

एनबी इन्टरनेशनल कम्पनीको शतप्रतिशत स्वामित्व साउथ एशिया फाइनान्सियल सर्भिस कर्पोरेशनको नाममा छ । यो अफशोर कारोबारका लागि चिनिएको देश पानामामा दर्ता भएको कम्पनी हो, जुन ठाउँलाई ट्याक्स हेभन कन्ट्रीको रुपमा चिनिन्छ । चौधरी समूहको आधिकारिक वेबसाइटमा पनि सीजी कर्प ग्लोबलले साउथ एशिया फाइनान्सियल सर्भिस कर्पोरेसनअन्तर्गतको आइरिस कम्पनी एनबी इन्टरनेशनमार्फत नबिल बैंकमा लगानी गरेको उल्लेख गरेको छ ।


साउथ एशिया फाइनान्सियल सर्भिस कर्पोरेशनमा ५१ प्रतिशत सेयर स्वामित्व बंगलादेशी नागरिक अब्दुल अवाल मिन्टोको नाममा छ । ४९ प्रतिशत सेयर स्वामित्व सिनोभेसन इङक सिंगापुरको नाममा छ । सिनोभेसन कम्पनीमा ९९.५ प्रतिशत सेयर स्वामित्व राहुल चौधरी र वरुण चौधरीको नाममा छ भने ०.५ प्रतिशत सेयर स्वामित्व विनोद चौधरीको नाममा छ ।

राहुल र वरुणले गैरआवासीय नेपालीको रुपमा उक्त कम्पनीको स्वामित्व लिएका हुन् । एनबी इन्टरनेशनलको अन्तिम हितकारीको रुपमा विनोद चौधरीले पनि नबिल बैंकबाट लाभांश पाउने भएपछि राष्ट्र बैंकले केही महिनाअघि चौधरीलाई पत्र पठाएको थियो । पत्र पाएपछि चौधरीले सिजी सिनोभेसनमा आफूले विदेशमा उपहारस्वरूप सेयर पाएको जानकारी गराउँदै त्यो सेयर विदेशी लगानीका रुपमा लेखांकन गरिदिन आवेदन दिएका थिए ।


राष्ट्र बैंकले विदेशी उपहारस्वरुप सेयर लिन पाइने तर त्यो सेयरको लाभांश नेपालीले डलरका रूपमा बाहिर लैजान नमिल्ने जनाई चौधरीले लगेका सबै लाभांश फिर्ता ल्याउन समेत निर्देशन दिएको थियो । त्यसपछि चौधरीले २०७३÷७४ सम्म लगेको लाभांश फिर्ता ल्याएका थिए । ‘नेपाल अरब बैंकको सेयर किन्न ‘घुमाउरो बाटो प्रयोग ग¥यो’ भनेर विरोधीहरुले लगाएका आरोप शतप्रतिशत गलत थिएन । मलाई घुमाउरो बाटो हिंड्न बाध्य पारेको यहाँको ‘सिस्टम’ले नै हो ।

कहिलेकाहीं सही काम गर्न ऐन र नियम अपुरो छ वा बाधक छ भने तिनलाई पछाडि छोड्नु नै उद्यमीको साहसको परिचय हो,’ उनले आत्मकथामा भनेका छन् । चौधरीले आफ्नो आत्मकथामा नेपाल अरब बैंकको शेयर किन्न खोज्दा कानुनले छेकेपछि बंगलादेशमा कम्पनी खोलेर त्यसमार्फत अप्रत्यक्ष रुपमा लगानी गरेको उल्लेख गरेका छन् ।

खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आईसीआईजेले विश्वका धनाढ्य र चर्चित व्यक्तिहरुले अवैध सम्पत्ति लुकाउन र कर छली गर्न सुरक्षित स्थान (ट्याक्स हेभन) का रुपमा पानामालाई प्रयोग गरेको २०७३ सालमा खुलासा गरेको थियो, जसलाई पानामा पेपर्सका रुपमा चिनिन्छ । साउथ एशिया फाइनान्सियल सर्भिस कर्पोरेसन पानामामा रहेको र यसको कारोबारमा व्यवसायी चौधरीका छोरा राहुलकुमार चौधरी जोडिएको विवरण अन्तर्राष्ट्रिय कम्पनीहरुको विवरण राख्ने संस्था ओपन कर्पोरेट्सले उल्लेख गरेको थियो ।