September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

“सुखी नेपाली र समृद्ध नेपाल” बनाउँन पूँजी बजारको महत्वपूर्ण भूमिका

“सुखी नेपाली र समृद्ध नेपाल” बनाउँन पूँजी बजारको महत्वपूर्ण भूमिका

जगदिश रिजाल-

हिजोआज हामीले धेरै सुन्दै आएको शब्दावली “सुखी नेपाली र समृद्ध नेपाल” हो । यसलाई कार्यान्वयनमा ल्याउन पूँजी बजारले महत्वपूर्ण भूमिका खेल्न सक्छ । यो लेख पूँजी बजारले आर्थिक समृद्धिमा कसरी भूमिका खेल्न सक्छ भन्ने विषयमा केन्दि«त छ । सम्पन्न राष्ट्रको विकासक्रमलाई नजिकबाट हेर्ने हो भने उद्योग, व्यवसायको विकासबाट भएको पाइन्छ । उद्योगहरुमा अधिकभन्दा अधिक आम जनतालाई पूँजी बजारका माध्यमबाट लगानी गर्न प्रोत्साहन गरेको पाइन्छ । जसको फलस्वरुप आम जन्ताले पनि कम्पनिको स्वामित्व ग्रहण गर्न पाउँदा उत्साहित भएको देखिन्छ । कम्पनिले मुनाफा आर्जन गर्दा लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्छन् । यसका अलवा पूँजी बजारमार्फत आफ्नो लगानी जुनसुकै बेला बिक्री गरी नगदमा परिण्मत गर्न सक्ने भएकोले देशको आर्थिक अवस्थालाई समेत चलाएमान बनाउन मद्धत गर्छ ।

Advertisement

उद्योगी, व्यवसायीलाई उद्योग सञ्चालनका निमित्त आवश्यक पर्ने लगानी प्राप्त गर्ने स्रोत र आम सर्वसाधरणसँग बचत रहेको लगानीयोग्य स्रोत बीचमा तालमेल मिलाउने माध्यम भनेकै पूँजी बजार हुन सक्छ । सर्वसाधरणसँग छरिएर रहेको अर्बाैँ रकम र ठूला उद्योगी, व्यवसायीलाई आवश्यक पूँजीबीचको विरोधाभाषपूर्ण स्थितिको अन्त्य गर्न हरेक राष्ट्रमा पूँजी बजार एक साधन बनेको पाइन्छ ।

सामान्यत अधिक आय क्षेत्रमा रहेको बचत रकमलाई सो क्षेत्रबाट अभाव क्षेत्रतर्फ प्रवाह गर्न सबैभन्दा उत्तम माध्यम पूँजी बजार नै हो । व्यावसायिक ज्ञान तथा लगानीयोग्य पूँजीलाई चलानमान गर्न पूँजी बजारले सेतुको काम गर्दछ । हाम्रो जस्तो अल्पविकसित देशका उद्यमीमा पूँजी बजारलाई सही तवरबाट उपयोग गर्न सोचको अझै पर्याप्त विकास भइसकेको पाइँदैन । उद्यमीहरु पूँजी बजारमा जानु भनेको आफ्नो प्रतिफल वितरण गर्नमात्र हो जोखिम होइन भन्ने मानसिकताबाट ग्रस्त भएको पाइन्छ ।

पूँजी बजारप्रतिको ज्ञानको कमीले के स्पष्ट गर्छ भने राज्यले अंगीकार गरेको आर्थिक उदारीकरणका कारण निजी क्षेत्रमा थुप्रै व्यवसाय फस्टाएका छन् । तर पनि नेपालमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, निर्माण, सेवा, दूरसञ्चर, उत्पादन तथा प्रशोधन क्षेत्रका त्यस्ता धेरै उद्योग, व्यवयसायहरु पूँजी बजार मार्फत लाभ प्राप्त गर्न चुकेको पाइन्छ ।

देशले आर्थिक समृद्धि हासिल गर्न आम जनताबाट भएको लगानीको सुरक्षाको प्रत्याभूति दिनुपर्ने हुन्छ । देशमा सञ्चालनमा आएका कम्पनीले नीतिगत एवं संस्थागत उत्तरदायित्व अनिवार्य रुपमा पालना नगरेको खण्डमा कानुनबमोजिम कारबाही गरी कानुनी शासनको प्रत्याभूति दिन सरकार समक्ष भए देश विकासक निमित्त आवश्यक पूँजी स्वदेशमा नै प्राप्त गर्न सकिन्छ ।


आज हामी राष्ट्रिय गौरवका आयोजनाका लागि पूँजीको अभावमा विदेशी दातामार्फत लगानी माग गर्न अनेक सभा, सम्मेलन गरिरहेका छौँ । तर देशमा छरिएको पूँजी प्राप्त गर्न सकिन सहज एवं सरल माध्यमका बारेमा पूँजी बजारको विकास हो भन्ने कुरा ठम्याउन चुकेका छौँ । राष्ट्रिय गौरवका आयोजनामा पब्लिक कम्पनिलाई सामेल गराई लगानी गर्न इच्छुक लगानीकर्तालाई लगानीको वातावरण बनाएको खण्डमा ठूलो समुदायबाट पूँजी संकलन गर्न सकिन्छ । देशमा उद्योग, व्यवसाय स्थापना, सञ्चालन तथा विस्तारका विभिन्न चरणमा लगानीकर्तालाई लगानी र पूँजी संकलन गर्नेलाई अवसर उपलब्ध गराउँछ ।

हामीले अन्तराष्ट्रिय रुपमा प्रचलनमा रहेको संस्थागत सुशासनका सिद्धान्दहरु बुझ्नुपर्छ । सरकारले अवलम्बन गर्नुपर्ने असल संस्थागत सुशासनका प्रमुख चार सिद्धान्त परिपालनको सुनिश्चितता प्रदान गर्नुपर्ने देखिन्छ । पूँजीगत स्रोत जुटाउने सन्दर्भमा हाम्रो सोचमा नविनता र रचनात्मकता छैन । पूँजी निर्माण कसरी गर्ने भन्नेमा ध्यान गएको छैन । सर्वसाधरणमा सबैमा यसको जानकारी हँुदैन ।

ऋण लिएर सरकार चलाउने कुरा हामीमध्य धेरै कमले सोचेका छौं । अमेरिका, चिन, जापान र युरोपेली राष्ट्रमा म्युनिसिपल बन्डलाई वित्तीय स्रोतको महत्वपूर्ण औजारको रुपमा उपयोग गरिँदै आएको छ । विकसित मुलुकमा प्रदेश नगर तथा गाउँपालिकाले सडक, फुल, विमानस्थल, बन्दगाह, शिक्षा, स्वास्थ तथा खानेपानी सेवा प्रवाह वा कुनै पूँजीप्रधान परियोजना निर्माण तथा सञ्चालनका लागि ऋणपत्रका माध्यमबाट उठाउने कर्जालाई सामान्याता “म्युनिसिपल बन्ड” भनिन्छ । नाममा “म्युनिसिपल” जोडिएकौले यसलाई नगरपालिकाले मात्रै जारी गर्न सक्ने ऋणपत्रका रुपमा बुझ्न हुदैन । यसलाई “नोट्स” वा “सर्टिफिकेट अफ पार्टिसिपेसन” र बोलिचालीमा “मुनी बन्ड” पनी भन्ने गरेको पाइन्छ । हामी यसलाई नगर ऋणपत्र, महानगर ऋणपत्र, प्रदेश ऋणपत्र आदि नाम दिन सक्छौं । साधारण खर्च सञ्चालनका लागि पनि यस्तो ऋणपत्रको प्रयोग हुन सक्छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा महानगरले ऋणपत्र जारी गरेर विकास निर्माण कार्य सञ्चालनका लागि आवश्यक पूँजी जुटाउन स्टक एक्सचेन्जमार्फत ऋणपत्र जारी गरेकोमा जनताबाट नसोचेको भाग प्राप्त भएको पाइन्छ । यहि प्रकारको भागलाई आधार मानेर हामीले पनी राष्ट्रिय गौरवका आयोजनामा पूँजी संकलन गर्न ऋणपत्र किन जारी नगर्ने । चीनमा पनी प्रान्त सरकार र महानगरहरुबीच ऋण लिएर काम गर्ने प्रतिस्पर्धा चर्को छ । हाम्रो देशको सन्दर्भमा जापान अमेरिका जस्तो ऋण हामीले धान्न सक्दैनौं । ऋण नै नलिई अर्थतन्त्रलाई चलायमान पनि बनाउन सक्दैनौं । त्यसैले सार्वजनिक ऋण ठिक्क हुनुपर्छ– न धेरै न कम ।

पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले यससम्बन्धी नियमाली तर्जमा गरी कार्यान्वयनमा ल्याउनु पर्छ । उक्त नियमावलीमा जारी गर्न सकिने ऋणपत्र, ऋणपत्र जारी गर्न सक्ने निकाय, बिक्री प्रबन्धक, प्रत्याभूित, जारी गर्नका लागि आवश्यक कागजात तथा पूर्वतयारी, प्राथमिक तथा दोस्रो बजार कारोबार, राफसाफ तथा फस्र्यौटसम्बन्धी व्यवस्था, कारोबार लगात, करलगायता जिषय समावेश हुनुपर्छ । सामान्यतः महानगर ऋणपत्रहरु करमुक्त हुन्छन् र गरिनु पनि पर्छ ।

सार्वजानिक वित्त व्यवस्थापनका लागि कुन–कुन स्रोतको उपयोग गर्ने र त्यसलाई कहाँ खर्च गर्ने भन्ने विषयमा गम्भीर गृहकार्य भएको छैन ।

त्यसैले ऋणपत्र जारी गर्नुको उद्देश्य। संकलित रकम लगानी हुने परियोजना वित्तिय सम्भाव्यता तथा ऋणको फिर्ता हुने गरी नीतिगत र संस्थागत संरचना निर्माण गरिनुपर्छ ।

हाम्रो पूँजी बजारमा यस्ता केही व्यवहारिक समस्या छन् जसलाई सम्बोधन गर्न सकिन्छ । तर सरकार र निजी क्षेत्र दुवैको प्राथमिकता यो विषय पर्नपर्छ । उल्लिखित तथ्यलाई मनन् गरी सरकार नीतिगत रुपमा प्रस्ट हुनुपर्छ । मुलुकमा आर्थिक व्यावसायिक गतिविधि सञ्चालन पब्लिक कम्पनीमार्फत गर्ने हो भन्नेमा सरकारको जोड हुनुपर्छ । पब्लिक कम्पनीको संरचनामा व्यवसाय सञ्चालन गर्नेलाई कर छुट दिएर प्रोत्साहित गर्नुपर्छ । पूँजी बजार कारोबार लागत कम गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ ।

ठूलो पूँजी, राज्यको स्वामित्वमा रहेको प्राकृतिक स्रोतको उपयोग गर्ने, ठूलो संख्यामा रोजगारी दिने, ठूलो कारोबार गर्ने तथा पर्यावरणीय प्रभावका दृष्टिले संवेदनशील उद्यम, व्यवसाय पब्लिक कम्पनीबाटै हुनुपर्छ भन्ने विषयमा सरकार प्रस्ट हुनुपर्छ । पर्याप्त पब्लिक कम्पनी भएमात्र पूँजी बजारको अर्थपूर्ण अस्तित्व हुन्छ । आफ्नौ देशमा छरिएर रहेको निष्क्रिय पूँजीलाई एकीकृत गरी पूँजी बजार मार्फत परिचालन गर्नुपर्ने आजको आवश्यकता हो । जनतालाई पूँजी बजारको माध्यमबाट मनग्य लाभ प्राप्त गर्ने वातावरण बनाउन सकिन्छ । उद्योगी, व्यवसायले पनि पूँजी बजारमार्फत प्राप्त गर्ने पूँजीले आफ्नो व्यवसाय विस्तार गरी लाभ प्राप्त गर्नुका साथै देशमा रोजगारी सिर्जना गर्न मद्दत गर्न सक्छन् । सरकारले परिपक्व पूँजी बजार निर्माणका लागि आवश्यक नीतिगत तथा संस्थागत संरचनाका सन्दर्भमा छुट्टाछुट्टै अध्ययन, अनुसन्धान र बहस गर्नुपर्छ । पूँजी बजारमार्फत नै स्वदेशमै रहेका स–सानो रकम संकलन गरी मुलुकले ठूलाठूला आयोजना सम्पन्न गरी आर्थिक समृद्धि हासिल गर्ने कुरामा दुईमत छैन ।