ग्रिनहिल सिटी समाज शहर भित्रको ब्यावस्थित शहर भएको पूर्व प्रधानमन्त्री नेपालको दावी
शनिवार २१, मंसिर, २०७६ काठमाडौं
ग्रिनहिल सिटी शहर भित्रको ब्यवस्थित शहर भएको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताउँनु भएको छ । ग्रिनहिल सिटी समाज कागेश्वरी मनोहरा न.पा. वडा नम्बर ६, मुलपानी, काठमाडौंको शनिवार प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दे पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उक्त कुरा बताउँनु भएको हो ।
बि.स.२०६८ सालबाट ग्रिनहिल सिटी कोलोनीको रुपमा बिकास भईरहेको आवास क्षेत्र देशका विभिन्न जिल्लाबाट आई विभिन्न पेशा ब्यवसाय अंगाल्ने मानिसहरुको बसोबास भईरहेको सम्भवतः देशकै ठूलो र व्यवस्थित कोलोनी मध्येको एक हो । करिब ३२० रोपनी जग्गामा फैलेको ८ सयसम्म घर रहने यो कोलोनमिा हाल करिब ४ सय घर तयार छन् भने अन्य घरहरु निर्माणको अवस्थामा छन् । साधारण सभामा कार्य प्रगति प्रतिवेदन, आय ब्यय विवरण, भावि योजना लगायतका विभिन्न प्रस्ताबहरु पारित भएका छन् । ग्रिनहिल सिटी भित्र हाल सहकारी संस्था, जिम क्लब, योगा, डान्स, खेलकुख क्षेत्र, ग्रोसरी आदि रहेका छन् ।
समाजका अध्यक्ष श्री बिश्वराज पौडेल(किरण)को सभापतित्वमा सम्पन्न भएको कार्यक्रम कोषाध्यक्ष श्री ईश्वर उप्रेतीले संचालन गर्नु भएको थियो । अध्यक्ष पौडेलले समग्र समाजको प्रगति विवरण राख्नुभयो । साधारण सभामा कागेश्वरी मनोहरा नगरका प्रमुख श्री कृष्णहरि थापा, कागेश्वरी मनोहरा नगर वडा नम्बर ६ का अध्यक्ष श्री प्रकाश फुयाल, गोकर्णेश्वर नगर वडा नम्बर ७ का अध्यक्ष श्री केशब गुरुङ्ग, ग्रिनहिल सिटी कम्पनीका प्रतिनीधि लगायत समाजका सदस्यहरको भब्य उपस्थिति रहेको थियो ।
