April 21, 2025, Monday
[nepali_today_date]

भोटेकोशी जलविद्युत्को उत्पादन १५ दिन पछि राष्ट्रिय प्रसारण लाइनमा

मंसिर २३, २०७६ सिन्धुपाल्चोक
विभिन्न प्राकृतिक प्रकोपको क्षति व्योहोरेको सिन्धुपाल्चोकको भोटेकोशी जलविद्युत आयोजनाले करिब सात वर्षपछि आफ्नो उत्पादक पुनः शुरु गरेको छ । करिब सात अर्ब रुपैयाँको लागतमा आयोजनको पुनर्निर्माण सम्पन्न गरी शनिबारबाट परीक्षण उत्पादन शुरु भएको हो । विद्युत् उत्पादन सुरु भए पनि अब कम्तीमा १५ दिनपछि मात्रै व्यावसायिक रुपमा विद्युत उत्पादन सुरु गरिने आयोजनाले जानकारी दिएको छ । उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणको लामोसाँघुमा रहेको सब स्टेशनमार्फत राष्ट्रिय प्रशारणमा जोडिएको छ । यो २०७१ सालमा जुरे पहिरोले आयोजनाको टावरमा क्षति पुगेपछि उत्पादन बन्द भएको आयोजनाले शनिबारबाट परीक्षण उत्पादन शुरु गरेको हो । ४५ मेगावाट क्षमताको उक्त आयोजनाले अहिले नदीमा पानीको बहाव कम भएको कारण २५ मेगावाट मात्रै उत्पादन गरेको छ । यस अगाडि जुरे पहिरोले प्रशारण टावरमा क्षति पुगेपछि आयोजनाले विद्युत उत्पादन बन्द गरेको थियो । त्यसको करिब १० महिनामा मै टावर मर्मत गरी उत्पादन शुरु गर्नै लाग्दा २०७२ को भूकम्पले पुनः आयोजनामा क्षति र्पुयायो । भूकम्पले आयोजनाको विद्युत गृहसहित पेनस्टक पाइप लगायतका भौतिक संरचनाहरूमा क्षति र्पुयाएको थियो । सो क्षतिको मर्मत हुँदै गर्दा २०७३ को असारमा आएको बाढीले आयोजनाको धेरै संरचना पूर्ण रुपमा ध्वस्त बनाएको थियो । भूकम्पमा पेनस्टक पाइप पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । इलेक्ट्रोनिक्सको पनि सबै सामग्री फेर्नु परेका कारण करिव सात अर्ब खर्च भएको छ । आयोजनाको केही काम अझै बाँकी भएकाले निर्माणको जिम्मा पाएको चिनियाँ सिनो हाइड्रो कम्पनीलाई दुई महिनापछि मात्रै बिदाइ गरिने भएको छ ।

Advertisement