मानव विकासमा दक्षिण एसियाको छलाङ, तर नेपाल कमजोर
काठमाडौं । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गर्ने मानव विकास प्रतिवेदनमा नेपाल एक स्थान माथि उक्लिएको छ । युएनडिपीका अनुसार मानव विकास मापन गरिएका १ सय ८९ मुलुकमध्ये नेपाल १ सय ४७ औँ स्थानमा रहेको छ । गत वर्ष नेपाल १ सय ४८ औँ स्थानमा थियो । युएनडिपीको रिपोर्ट अनुसार सन् २०१८ मा नेपालको मानव विकास सूचकांक मूल्य ०.५७९ पुगेको छ । जुन अघिल्लो वर्षको भन्दा ०.००५ अंकले बढी हो । सन् २०१७ मा नेपालको मानव सूचकांक मूल्य ०.५७४ र सन् २०१६ मा ०.५७२ रहेको थियो । १ सय ८९ मुलुकमध्ये ६२ वटा मुलुकमा धेरै उच्च मानव विकास रहेको छ । त्यस्तै, उच्च मानव विकास भएका मुलुक ५४ वटा र मध्यम मानव विकास भएका मुलुक ३७ वटा रहेका छन् । कम मानव विकास भएका मुलुकको संख्या ३६ वटा रहेका छन । समीक्षा अवधिमा नेपालमा लैंगिक समानतामा भने राम्रो सुधार देखिएको छ । नेपालको लैंगिक विकास सूचकांक ०.८९७ रहेको छ । महिलाको मानव विकास सूचक ०.५४९ रहेको छ भने पुरुषको ०.६१२ रहेको छ । नेपालीको औसत आयु ७०.५ वर्ष रहेको छ, जसमा महिलाको औसत आयु ७१.९ वर्ष र पुरुषको ६९ वर्ष रहेको छ । कुल प्रतिव्यक्ति राष्ट्रिय आय (जिएनआई) २ हजार ७ सय ४८ अमेरिकी डलर रहेको छ । यसमा महिलाको जिएनआई २ हजार १ सय १३ अमेरिकी डलर र पुरुषको ३ हजार ५ सय १० अमेरिकी डलर छ ।
प्रतिकृया दिनुहोस्