अमेरिकन राजदुत बन्ने दाउमा अर्थमन्त्री खतिवडा
काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले अर्थमन्त्रीबाट विदाई हुनुपर्ने समय नजिकिदै गर्दा नयाँ विकल्प खोज्न थालेका छन् । विकल्प स्वरुप उनले अमेरिकाको राजदूतको लागि चासो देखाएका छन् । हुनत खतिवडाको पहिलो बिकल्प भनेको नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै विस्वासमा राख्दै नया बिल्क निकालेर अर्थमन्त्रीमा नै थमैति हुनु हो, यो विकल्पले काम नगरे अमेरिकारको राजदुत हुनु रहेको मन्त्री निकट स्रोतले बताएको छ । हुनत अमेरिकाका लागि राजदूत बन्नका लागि खतिवडा सँगै अर्थसचिव राजन खनाल र परराष्ट्र सचिव शंकरदास बैरागीको दौडधुप चलिरहेको खुलेको हो । अर्थमन्त्री डा. खतिवडा राष्ट्रियसभा सदस्य हुन् । उनको समयावधि आगामी माघदेखि सकिँदैछ । संसद सदस्य नरहेपछि उनी धेरै समय मन्त्री पनि रहने छैनन् । यद्यपि, ६ महिनाभित्र संसद् सदस्य हुनेगरी उनको पद थमौती हुने सम्भावा पनि छ । निर्वाचन आयोगले राष्ट्रियसभाको चुनाव माघ ९ गतेका लागि तोकिसकेको छ ।
केही समयका लागिमात्र सांसद र मन्त्री रहेका खतिवडा अमेरिकी राजदूतको दौडमा सबैभन्दा अगाडि रहेको स्रोत बताउँछ । डा. खतिवडालाई राजदूत बनाउन प्रधानमन्त्री केपी ओली पनि सकारात्मक रहेको स्रोतको दाबी छ ।
डा.खतिवडाको संयुक्त राष्ट्रसंघ, विश्व बैंक, आइएमएफ जस्ता अन्तराष्ट्रिय निकायसँग राम्रो सम्बन्ध रहेको र उनलाई राजदूत बनाए त्यसको फाइदा लिन सक्ने कुरामा प्रधानमन्त्री ओली ‘कन्भिन्स’ भएको खतिवडाका निकटस्थ बताउँछन् ।
अर्थमन्त्री डा. खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भइसकेका छन् । उपाध्यक्षबाट अवकाश पाएपछि उनी नेपाल राष्ट्र बैंकको गभर्नर भएका थिए । वरीयताक्रममा योजना आयोगको उपाध्यक्षभन्दा गभर्नर तल पर्छ । त्यतिबेला उनले गभर्नर पद ‘ग्ल्यामरस’ भएकाले आफूले वरीयता नहेरेको प्रतिक्रिया दिएका थिए । अमेरिकी राजदूतको पद पनि ‘ग्ल्यामरस’ भएका कारण उनी इच्छुक भएको उनी निकटस्थको दाबी छ । त्यही भएर खतिवडा भारतका लागि हालका राजदूत निलाम्बर आचार्य र पूर्वराजदूत दीपकुमार उपाध्यायको दृष्टान्त दिँदै मन्त्री भइसकेको व्यक्ति राजदूत हुन सक्ने बताउँदै प्रधानमन्त्री ओलीलाई फकाउदै छन् ।
अर्थमन्त्रीसँगै सोही मन्त्रालयका सचिव राजन खनाल पनि अमेरिकी राजदूतको दौडमा छन् । माघमा अवकाश पाउँउने खनाल खतिवडालाई समेत पछिपार्दे राजदुत पड्काउने दाउमा छन् । प्रधानमन्त्री निकटस्थ भने उनलाई राष्ट्र बैकको गर्भनर बनाउने आश्वासन दिदै खतिवडाको ठाउँ खाली गर्दे आउका छन् । उता, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी पनि माघमा नै सेवानिवृत्त हुँदैछन् । उनी पनि अमेरिकी राजदूतको दौडमा छन् । विषयगत ज्ञान बढी भएकाले आफू राजदूतको बलियो दाबेदार भएको उनको तर्क छ । तर प्रधानमन्त्री निकटस्थहरु भने बैरागीलाई श्रीलंकाको राजदूत बनाउँने अफर दिदै हिडेका छन् । श्रीलंकाका लागि राजदूत डा. विश्वम्भर प्यार्कुयालले राजीनामा दिएपछि त्यहाँ राजदूत पद खाली छ । बैरागीले श्रीलंकाको राजदूत अस्वीकार गरेर अमेरिकाकै लागि लबिङ गरिरहेको स्रोत बताउँछ । यतिखेर उनी खतिवडा पन्छाउने बाटो खोजी गर्दे हिडेको स्रोत बताउँछ । अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको समयावधि सकिइसकेको छ । सरकारले अर्को व्यवस्था नभएसम्मका लागि कार्कीलाई नै कार्यभार सम्हाल्ने जिम्मेवारी दिएको छ ।
प्रतिकृया दिनुहोस्