February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

सेयर बजारमा रेकर्डमाथि नयाँ रेकर्ड, आखिर किन कोरोनाको महामारीमा भयो यस्तो ?

सेयर बजारमा रेकर्डमाथि नयाँ रेकर्ड, आखिर किन कोरोनाको महामारीमा भयो यस्तो ?


कोरोनाको दोस्रो लहर फैलिएसंगै नेपालका अधिकांश जिल्ला प्रशासन कार्यलयहरुले जिल्लाभित्र निषेधाज्ञा गरेका छ । निषेधाज्ञाका कारण देशैभरि आर्थिक गतिबिधि ठप्प छन् । मुलुक कोरोना संक्रमणको महामारीबाट अधिकांश क्षेत्र आक्रान्त भइरहेका बेला पुँजी बजारमा भने नयाँ चमकसाथ उत्साह देखिएको छ । बीचमा केही समय अलमलिएको सेयर बजार निषेधाज्ञासँगै चम्किन थालेको छ । नेपालको पूँजी बजारमा अहिले दिनँहु नयाँ रेर्कड बन्ने र तोडिने क्रम जारी छन् । यो सँगै नेपालका लगानीकर्ता पूँजी बजारमा मालामाल बनाइरहेका छन् ।

Advertisement


बजार नियामक निकायहरुको सकारात्मक कदम, नीतिगत तहमा सुधारका लागि पुँजी बजार फोरमको सक्रियता, लगानीकर्ताहरुको दरो आत्मविश्वासका कारण बजार बलियो बन्दै गएको छ । यसका अलावा वित्तीय प्रणालीमा पर्याप्त तरलता, ब्रोकर कमिशनको कटौती,सेयर कर्जाको सुलभता, अनुकुल ब्याजदर र पुँजी बजारको प्रणालीमा भइरहेको निरन्तर सुधारले गर्दा सेयर बजारले ’बुलिस रन’ मा अघि बढेको छ । बजार बढ्नका लागि सबै सूचकहरु सकारात्मक रहेकोले बजार घट्नुपर्ने कुनै कारण यतिखेर देखिदैन् ।


संक्रमणबाट बच्न घरघरमा बसेका लगानीकर्ताहरुको आकर्षणको केन्द्र सेयर बजार भएको छ । त्यसैपनि टिएमएस प्रणालीको विकास पछि बजारमा थप सकारात्मक प्रभाव परेको छ । टिएमएस प्रणालीको विकास भएको समय विश्वका नै सबै देशमा सेयर बजार माथि जाने गरेको छ । त्यस्को असर पनि बजारमा सकारात्कम रुपमा परेको छ । अर्कोतीर लकडाउन भएपछि बजार घट्छ भन्ने हल्ला र अनुमान गलब सावित भएको छ ।


एकथरीले कोरोना संक्रमणको जोखिम र लकडाउनको हल्ला फैलाएर केही दिन बजार घटाउने प्रयास गरेका थिए । तर लगानीकर्ताहरुको दरो आत्मविश्वासका कारण बजार नयाँ खालको उछाल देखिएको छ । अर्को घरघरबाट समेत अनलाईन कारोवार गर्न सकिने भएकाले गर्दा बजारमा यतिखेर उछाल आएको छ ।


बैंक तथा वित्तीय संस्थाहरु तेस्रो त्रैमासिक रिपोर्ट धमाधम निकालिरहेको अहिलेको समय सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ । बजार विश्लेषकहरु यतिखेर बजार माथि जाने समय मान्दछन् । त्यस्को कारण अधिकांश बैंक तथा वित्तिय संस्थाहरूले आकर्षक कमाइको रिपोर्ट ल्याइरहेका छन् । त्रैमासिक रिपोर्टक आधारमा कुन कम्पनीले कति लाभांश दिन्छ भनेर बजारमा हुने आंकलन र अपेक्षासँगै उत्साह थपिने गर्छ । वर्षभरीको कमाइको हिस्सेदार यतिखेर लिने समय हो । यस्ले पनि बजारमा सकारात्मक प्रभाव पारेको छ ।


कोरोनाको जोखिमले लगानीका अन्य क्षेत्रहरु संकुचित भएका छन् । अर्कोतिर राजनीतिक अन्योल, अस्थिर सरकार र आगामी चुनावपछिको अवस्थालगायतका कारणले गर्दा निजी क्षेत्र अहिले नै ठूला परियोजनामा लगानी हिचकिचाइरहेका समय बजारमा भएको तरलता समेत सेयर क्षेत्रमा आउने गरेको छ । कम्पनीहरुको कमाइको तुलनामा बजार मूल्य निकै कम भएकोले पनि लगानीकर्ताहरु पुँजी बजारतिर बढी आकर्षित भइरहेका छन् । पुरै डिजिटल माध्यमबाट गरिने यो कारोबारमा कोरोनाको असर खासै देखिएको छैन ।

गत बैशाख १६ गते काठमाडौंसहितका जिल्लाहरुमा निषेधाज्ञा जारी भएको हो । निषेधाज्ञाको अघिल्लो दिन अर्थात बैशाख १५ गते नेपालको सेयर बजार मापक नेप्से परिसूचक २५८५.२८ को बिन्दुमा थियो । निषेधाज्ञा लागेदेखि मंगलवारसम्म नेप्सेमा जम्मा १४ दिन सेयर कारोबार भएकोमा ५ दिनमात्र नेप्से परिसूचक घटेको छ । बाँकी १० दिनमा नेप्सेले उकालो यात्रा तय गरेको हो । यो १४ कारोबार दिनमा नेप्से परिसूचक १९४श्र७१ अंकले बृद्धि भएर २७८०.८१ को बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचकसँगै यो अवधिमा कारोबार रकममा पनि उल्लेखनीय रुपमा बृद्धि भएको छ । यो साताको पहिलो दिन आइतबार १० अर्बभन्दा माथिको सेयर कारोबार भएकोमा सोमबार ९ अर्भन्दा माथिको सेयर कारोबार भएको थियो । मंगलबार नेप्सेमा ११ अर्ब ३५ करोड रुपैयाँको सेयर कारोबार हुँदा नयाँ रेकर्ड बनाएको मा त्यो पनि तोडिएको छ । बुधवार बजार परिसूचकमा करेक्सन भए पनि कारोबार रकममा भने इतिहास रच्दै करिब १२ अर्ब नजिक पुगेको छ । २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजारको कारोबार भएको छ । अहिलेसम्मका सबै रेकर्डहरु ब्रेक भएका छन् । आजको कारोबार नै नेप्सेमा भएको सबैभन्दा बढी रकमको कारोबार हो । जसले गर्दा बजारमा कारोबार रकम एकाएक बढेको छ । गत साता ७ अर्बभन्दा तलको कारोबार भइरहेको बजारमा यो साता भने लगातार उच्च रकमको कारोबार भइरहेको छ ।


नेप्सेमा आज बजारलाई लिड गर्ने बैंकिङसँगै व्यापार, होटेल तथा पर्यटन र म्युचुअल फन्ड उपसूचकमा वृद्धि हुँदा त्यसबाहेक सबै उपसूचक घटेको छ । बैंकिङ उपसूचक ०.४ प्रतिशतले बढे पनि हाइड्रोपावर उपसूचक २.११ प्रतिशत, विकास बैंक उपसूचक, १.६७ प्रतिशत, लगानी उपसूचक १.७६ प्रतिशत निर्जीवन बिमा उपसूचक १.१ प्रतिशत, उत्पादन उपसूचक १.११ र अन्य उपसूचक १.२२ प्रतिशतले गिरावट भएको छ । जसले गर्दा नेप्से पनि करेक्सन भएको हो । यता, होटेल तथा पर्यटन उपसूचक ०.४१, व्यापार उपसूचक ०.८६ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.५१ प्रतिशतले बढेको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स १.०८ अंकले घटेर ४९६.१४ अंकमा बन्द भएको छ ।