January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

व्यापारघाटामा सुधार हुँदैः अर्थतन्त्रमा सुधारको संकेत

व्यापारघाटामा सुधार हुँदैः अर्थतन्त्रमा सुधारको संकेत

२१ माघ, २०७६ काठमाण्डौ ।

आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकले चालू आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ३७ अर्ब व्यापारघाटा बेहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ६ खर्ब ७७ अर्ब ८५ करोड २५ लाख ६० हजार रुपैयाँ थियो । छिमेकी लगायत तेस्रो मुलुकबाट हुने वस्तु आयातमा कमी आएसँगै व्यापार घाटामा सुधार देखिएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनामा ७ खर्ब ५१ अर्ब ९७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । आयात ४.०४ प्रतिशत घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँमा झरेको छ भने निर्यात २६.१३ प्रतिशत बढेर ५७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।
विभागका अनुसार ६ खर्ब ९४ अर्ब ६९ करोड लाख ३७ २२ हजार रुपैयाँको आयात भएकोमा ५७ अर्ब २७ करोड ९७ लाख ८४ हजार रुपैयाँको निर्यात भएको छ । यसअघि पाँच महिनामा पाँच खर्ब ८१ अर्ब २५ करोड ७१ लाख १९ हजार को आयात भएकोमा ४७ अर्ब ६१ करोड ६ लाख ८३ हजार रुपैयाँको निर्यात भएको थियो । सो अवधिमा सवै भन्दा धेरै छिमेकी मुलुक भारतबाट ४ खर्ब २३ अर्ब ८३ लाख ५ हजार रुपैयाँको आयात भएकोमा ४० अर्ब १४ करोड ३८ लाख ७५ हजार रुपैयाँको निर्यात भएको छ । दोस्रो छिमेकी मुलुक चीनमाट एक खर्ब १८ अर्ब २५ करोड २७ लाख ७६ हजार रुपैयाँको आयात भएकोमा एक अर्ब १६ करोड ५६ लाख एक हजार रुपैयाँको स्वदेशी वस्तुको निर्यात भएको छ ।
निर्यातमा पहिलो नम्बरमा प्रशोधित पाम तेल नै छ । ६ महिनाको अवधिमा १३ अर्ब ९० करोड रुपैयाँको प्रशोधित पाम आयल निर्यात भएको छ । पाँच महिनासम्म ११ अर्बको निर्यात भएको थियो । विभागका अनुसार यी वस्तु नेपालबाट निर्यात गर्दा महसुल लाग्दैन । अन्य मुलुकबाट नेपाल आयात गर्दा पनि गुणस्तरका आधारमा थोरै भन्सार लाग्छ । पुनः भारत निर्यात गर्दा महसुल नलाग्ने हुँदा व्यवसायी कच्चापदार्थ ल्याई प्रशोधन गरेर निर्यात गर्नेतर्फ आकर्षित भएका छन् ।
विभागका अनुसार आन्तरिक उत्पादनको प्रवर्धन, स्वदेशमै औद्योगिक कच्चा पदार्थको उत्पादन बढाउने एवं बिलासीजन्य वस्तुको आयात निरुत्साहन गर्ने सरकारी नीति, जलविद्युत उत्पादनमा वृद्धि, सिमेन्ट, क्लिङकरको आन्तरिक उत्पादनमा वृद्धि, सवारी साधानको पैठारी व्यवस्थापनका कारण आयात घटेको र निर्यातमा भएको वृद्धिले मुलुकको व्यापार घाटा कम हुँदै गएको हो ।
पुषसम्म ६ खर्ब ९४ अर्ब ६९ करोड ३७ लाख २२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । सबैभन्दा बढी ४९ अर्ब बढीको डिजेल आयात भएको छ । यो अवधीमा ५७ अर्ब २८ करोड बराबरको सामाग्री निर्यात गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २६ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

Advertisement