पत्रकारले परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
काठमाण्डौ – पत्रकारले लाइसेन्स परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । बिहीबारको राष्ट्रियसभा बैठकले पत्रकारले परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै नेपाल मिडिया काउन्सिल विधेयक २०७६ संशोधनसहित सर्वसम्मतिबाट पारित गरेको हो ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट प्रस्ताव भएको पत्रकारहरुले लाइसेन्स लिनुपर्ने व्यवस्था हटाउन माग गर्दै राष्ट्रियसभामा सांसद खिमलाल भट्टराईले प्रस्ताव गर्नुभएको थियो ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या ५ को खण्ड ‘य’ मा रहेको पत्रकारको रुपमा काम गर्न चाहनेका लागि परीक्षा गर्ने व्यवस्था र क्रमसंख्या १५ मा रहेको पत्रकारको लाइसेन्स सम्बन्धी परीक्षा, दर्ता तथा अभिलेखसम्बन्धी व्यवस्था हटाउन सांसद भट्टराईले गर्नुभएको प्रस्तावमा अधिकांश सांसदहरुले सहमति जनाएका थिए । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासमेत त्यस संशोधन प्रस्तावमा सकारात्मक भएपछि लाइसेन्स लिनुपर्ने व्यवस्था हटाउँदै विधेयक पारित भएको हो ।
समाचारजन्य सामाग्रीका कारण कसैको प्रतिष्ठामा आँच पुगे मिडिया काउन्सिलले आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रस्तावित व्यवस्था हटाएर नयाँ आउने पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था विधेयकमा थप गरिएको छ ।
राष्ट्रियसभाबाट गत आइतबार नै मिडिया काउन्सिल विधेयक–२०७६ पारित गर्ने तयारी थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले मिडिया काउन्सिल विधेयक पारित गर्ने विषयलाई कार्यसूचीबाट हटाएका थिए ।
पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्नेलगायतका व्यवस्थाको विरोध हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस्